नवौँ राष्ट्रिय खेलकुद :गण्डकीबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

हिमाली आवाज ।  गण्डकी प्रदेशमा यही असोज २८ देखी कात्तिक ३ गते सम्म सञ्चालन हुने नवौँ राष्ट्रिय  खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट ७०२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

कास्की सहित गण्डकीका सात जिल्लामा हुने प्रतियोगितामा गण्डकी प्रदेशले सर्वाधिक धेरै खेलाडी दर्ता गराएको हो ।  राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आइतबारसम्म प्रतियोगितामा सहभागी हुने टिमले खेलाडी दर्ता गर्नुपर्ने तालिका बनाएको थियो ।

राष्ट्रिय खेलकुदमा देशका सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र गरी तीन विभागीय र एक गैरआवासीय नेपालीको टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

राखेपको प्राविधिक उपसमितिका अनुसार गण्डकी प्रदशेपछि विभागीय नेपाली सेनाले ६७३ खेलाडी दर्ता गरेको छ । यसैगरी सशस्त्र प्रहरीको एपीएफ क्लबले ५२२, नेपाल प्रहरीले ४८८ र सुदूरपश्चिम प्रदेशले ४३६ खेलाडीको नाम दर्ता गराएको छ ।

बागमती प्रदेशले ४३०, प्रदेश नं १ ले ३७१, मधेश प्रदेशले २६२, कर्णाली प्रदेशले १९७, एनआरएनएले १३१ र लुम्बिनी प्रदेशले १२३ खेलाडीको नामवली राखेपमा दर्ता गराएका छन् ।

आयोजक प्रदेश समेत रहेको गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ । परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले सबै खेलमा भाग लिइने बताउनुभयो ।

Comments
Loading...