नवौँ राष्ट्रिय खेलकुद:भव्य रुपमा भोली हुँदैछ पोखरामा सुभारम्भ

–कृष्ण दवाडी
हिमाली आवाज । गण्डकी प्रदेशमा भोलीदेखी औपचारिक सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारीका काम सकिएको छ ।
प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधार स्तरोन्नति लगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आज साँझ पत्रकार सम्मेनल गरी जानकारी दिएको हो ।

लुम्बिनी प्रदेशमा आठौँ संस्करणको समापन भएको साढे तीन वर्षको ब्यग्र प्रतिक्षापछि गण्डकीमा नवौँ सुरु हुन लागेको हो । कोरोनाका कारण निर्धारित मितिभन्दा डेढ वर्षपछि नवौँ हुन लागेको हो ।

‘एकतावद्ध देश, खेलकुदको सन्देश’ नारा सहित पोखरा रङ्गशालाबाट राष्ट्रिय खेलकुदको शुक्रबार साँझ ४ः०० बजे भव्य समुद्घाटन गरिने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । असोज २८ देखी कात्तिक ३ गतेसम्मको तोकिएको मिति अगावै केही खेल सुरु भएपनि लामो समयको प्रतिक्षापछि औपचारिक उद्घाटन हुन लागेको छ ।

उद्घाटन समारोहलाई भव्य र उल्लासपूर्ण बनाउने गरी दुई सातादेखी तयारी गरिएको छ । समारोहमा सातै प्रदेशका संस्कृति झलिक्नेछन् भने पोखरा रङ्गशाला सिँगारिएको छ । राष्ट्रिय खेलकुदको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन पोखरा आइसक्नुभएको छ ।

उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी , विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो ।उहाँका अनुसार केही चूनौतीलाई सामना गरेर प्रतियोगितालाई भव्य बनाउन गर्नुपर्ने सबै काम सकिएका छन् ।

उहाँले भन्नुभयो,“प्रतियोगिताको अन्तिम तयारी गरिरहँदा अपेक्षा नगरिएको वर्षाका कारण मौसमले केही दिन चूनौती दिएपनि मुलभुत रुपमा प्रतियोगिताको भव्य तयारी गरेका छौँ । तोकिएका खेलहरु कार्यतालिका अनुसारनै सञ्चालन भएका छन् ।”

समारोहमा सातौँ दक्षिण एशियाली खेलकुदका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नुहुनेछ । प्रतियोगितामा सहभागी ११ टोलीको मस्कट सहित मार्चपास हुनेछ ।राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार १५७ जना खेलाडी सहभागी हुँदैछन् ।

त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजारको प्रतियोगितामा सहभागिता रहने सदस्य सचिव घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै खेलाडीहरु आ–आफ्नो खेलस्थल र सम्बन्धित जिल्लामाहरुमा पुगिसकेका छन् । तोकिएका खेलस्थलहरुको मर्मत सकिएको छ भने खेलाडी तथा अफिसियलहरुको बसोबासको व्यवस्थापन गरिएको छ । गण्डकी प्रदेशका आठ जिल्लामा प्रतियोगिता अन्र्तगतका खेलहरु हुँदैछन् ।

उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ ।

नेपालको भुगोल र ठाउँ विशेष अनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ ।प्रदेश नं १ को राई÷लिम्बुको चर्चित साकेला नृत्य, मदेशको सतार र धिमाल जातिको मौलिक नृत्य उद्घाटनमा प्रस्तुत गरिनेछ ।

यसैगरी बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारु संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदुरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुने राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँबरले बताउनुभयो ।

उहाँका अनुसार नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विधिधता र त्यसभित्रको जातिय र सांस्कृतिक फरकपनलाई झल्काउने गरी झाँकीहरु प्रस्तुत हुनेछन् ।

उहाँले भन्नुभयो,“उद्घाटन समारोहले समग्र प्रतियोगिताको विशेष अर्थ राख्दछ । नेपालको इतिहासमै पर्यटकीय र खेलकुदको सहरमा राम्रो र उल्लासमय वातावरणमा उद्घाटन समारोह बनाउने छौँ,सिङ्गो देश खेलकुदमय हुनेछ ।”

Comments
Loading...