माछापुच्छ्रे गाउँपालिकाको धितालमा प्रथम वडाध्यक्ष कप रनिङ शिल्ड हुँदै

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालमा प्रथम वडाध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । सोही वडाको भेडाबारीस्थित खेल मैदानमा यही मंसिर २३ र २४ गते रनिङ शिल्ड हुन लागेको हो ।

खेलकुद एकताको लागि, एकता समृद्धिका लागिको नारा सहित माछापुच्छ्रे गाउँपालिका वडा नं ६ को वडा कप सञ्चालन समितिले सो खेलकुद प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा सेभेन ए साइड फुटबल,भलिबल, २०० मिटर र १०० सय मिटर दौड, ठेलो प्रतियोगिता, घैँटो फुटाई,रस्साकस्सी लगायतका खेलकुद प्रतियोगिता हुने वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वडास्तरदेखीदै खेलकुद प्रतियोगिता आयोजना गरी स्थानीय युवाहरुबीच भाइचारा अभिवृद्धि र स्थानीयस्तरका प्रतिभावान् खेलाडी पहिचानका लागि प्रतियोगिता गरिएको हो ।

अधिकारीले भन्नुभयो,“स्थानीय खेलाडीको पहिचान गरेर व्यवस्थापनको मार्ग सहित स्थानीय समृद्धिका लागि वडाध्यक्ष कप आयोजना गरेका हौँ । यसले यस क्षेत्रको खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेछ ।” वडाध्यक्ष कपका लागि विभिन्न शीर्षकमा रु चार लाख १५ हजार खर्च हुने र आम्दानी चार लाख ५० हजार हुने आयोजकको अनुमान छ । वडाध्यक्ष कपका लागि वडाले चालू आर्थिक वर्षमा रु तीन लाख बजेट विनियोजन गरेको छ ।

प्रतियोगितामा फुटबल र भलिबल खेलको विजेताले रु २० हजार र उपविजेताले रु १२ हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य खेलका विजेताहरुले समेत नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

वडाध्यक्ष कपका लागि विभिन्न उपसमितिहरु गठन गरी काम अघि बढाइएको छ । वडाध्यक्ष कप सञ्चालन समिति, सल्लाहकार समिति,आर्थिक,कार्यक्रम तालिका, प्रचारप्रसार टिम दर्ता, विशेष सल्लाहकार, अन्य सल्लाहकार समितिहरु गठन गरिएको प्रचार प्रसार उपसमितिका संयोजक सफल पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...