हिमाली क्षेत्रको पर्यटनको चर्चा गर्दै सकियो सातौँ पर्वतीय महोत्सव

हिमाली आवाज । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो ।

दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए ।

महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि बेस पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पाले क्याम्पको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि अध्ययन भएको जानकारी समेत दिनुभयो ।

‘अहिले हामीलाई सगरमाथा बेसक्याम्प सार्न कार्यक्रम गरेको आरोप लागिरहेको छ । त्यस्तो होइन, हामी त्यसैलाई कसरी व्यवस्थापन गर्ने विषयमै केन्द्रित छौं,’ उहाँले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा मिलन तामाङले जुगल हिमालको विषयमा प्रस्तुति दिनुभयो । जुगल हिमाल काठमाडौंबाट नजिक रहेपनि बेवास्तामा परेको उहाँको भनाइ थियो ।

‘छोटो छुट्टि भएकाहरुलाई जुगल हिमाल ट्रागेट गर्दा निकै पोटेन्सियल देखिन्छ । प्रचारप्रसारको काम अझै बाँकी छ । काठमाडौँबाट जम्मा केही मिटर पर छ । तरपनि त्यो छायाँको रुपमा देखिएको छ,’ उहाँले भन्नुभयो, ‘सिन्धुपाल्चोकमा रहेको हिमाल छायाँमा परेको हुनाले हामीले केही समय अघिदेखि यसबारे अध्ययन ग¥यौं । त्यसपछि पनि हामीले निरन्तर काम गर्दै आयौं ।’

यस्तै ‘वुमन मुभ माउन्टेन’नाराका विषयमा पनि अन्तक्रिया कार्यक्रम भएको थियो । पोखराका विभिन्न कलेजमा अध्ययनरत पाँच जना छात्रालाई वक्ताको रुपमा बोलाइएको थियो । संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवसलाई ‘वुमन मुभ माउन्टेन’को नारा सहित मनाउने निर्णय गरेको हो ।

सोही विषयमा वक्ताका रुपमा आउनुभएका वर्षा गुरुङ, रोशनी शाही, सरुना केसी, शोभा पुन र सिर्जा तन्दुकरले आफनो विचार राख्नुभयो । हिमाली क्षेत्रमा पर्यटन व्यवसाय धानेका महिलाको उदाहरण दिँदै सरुना केसीले हिमाली क्षेत्र जोगाउने कार्यभार महिलाले पनि गर्न सक्ने बताउनुभयो ।

‘हिमाली क्षेत्रमा पर्यटक जाँदा साँझ सांस्कृतिक कार्यक्रम गरेर संस्कृति जोगाउने महिला हुन् । पर्यटकलाई आवश्यक भएको लजिङ रर फुडिङको व्यवस्थापन गर्ने उनै महिला हुन्,’ सुरुनाले भन्नुभयो, ‘पछिल्लो समय रोजगारीका कारण पुरुषहरु बाहिर जाने क्रम बढी छ । हिमाली क्षेत्रमा संस्कृति जोगाउँदै महिलाहरु बसिरहनुभएको छ ।’

हिमाली क्षेत्रका विषयलाई प्राथमिकतामा राख्दै आयोजना भएको महोत्सवमा विभिन्न कार्यक्रम समावेश गरिएको थियो । छेलो हान्ने प्रतियोगितादेखि अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धा राखिएको थियो । छेलो हान्ने प्रतियोगितामा प्रथम हुँदै रोहित सुनारले २५ हजार र प्रमाणपत्र जितेका छन् ।

यस्तै दितियमा किरण सुनारले १० हजार र तृतीयमा बादल गुरुङले ५ हजार नगद प्राप्त गरेका छन् । अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धामा कुमुदिनी होम्सकी अभिषना पालिखे प्रथम भएकी हुनुभयो । दोस्रोमा सिर्जना विद्यालयका लक्ष्मण पौडेल र तेस्रो कृपा गुरुङ भएकी हुनुभयो ।

महोत्सवमा भाग लिएका विद्यार्थीदेखि हिमाली क्षेत्रको परिकार प्रर्दशनमा राख्ने सबैलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले धन्यवाद दिनुभयो । ‘महोत्सवमा उपस्थिती भएर सफल बनाउने सबैलाई धन्यवाद । पर्वतीय दिवसको अवसरमा हरेक वर्ष आयोजना हुने महोत्सव भव्यतका साथ सम्पन्न भएकोमा खुशी लागेको छ,’ न्यौपानेले भन्नुभयो,‘पर्वतीय दिवसको नारा जस्तै र अघि भर्खर प्यानलमा वक्ताहरुले भने जस्तै हिमाल संरक्षणको लागि महिलाको भूमिका महत्वपूर्ण छ ।’

यस्तै संघका सल्लाहकार डा. गणेश गुरुङले पर्वतीय महोत्सवले हिमाली क्षेत्रबारे ज्ञान दिन मद्दत गर्ने बताउनुभयो । महोत्सवको सिजन छ पोखरामा यतिबेला । जसमध्ये सबैभन्दा राम्रो र ज्ञानपूर्ण महोत्सव पर्वतीय महोत्सव रहेको बताउँछन् गुरुङ ।

‘हाम्रो यो महोत्सव पोखराका महोत्सव भन्दा फरका । पहिलो यहाँ हामी शूल्क लिँदैनौ । यो आम्दानीको लागि होइन । यो महोत्सव ज्ञान बाड्नको लागि हो । यसले हिमाली क्षेत्रको विषयमा महोत्सवमा आउने व्यक्तिलाई धेरै विषयमा सिकाउँछ,’ डा. गुरुङले भन्नुभयो ।

Comments
Loading...