नारायणगढ– मुग्लिन सडकमा रातको समयमा यात्रा नगर्न सुझाव

हिमाली आवाज ।  सडक डिभिजन भरतपुरले केही दिनयता निरन्तर वर्षा भएको र पटक पटक नारायणगढ मुग्लिन सडकमा गएको पहिरोको कारण रातीको समयमा यात्रा नगर्न सुझाव दिएको छ ।

दसैँमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सडक डिभिजन भरतपुरले सकभर रातको समयमा यात्रा नगर्न अनुरोध गरेको हो ।

कार्यालयका अनुसार सडकमा पहिरो रोकथामको काम तत्काल नहुने भएको छ । नारायणगढ–मुग्लिन सडकको तुइन खोलानजिक पहिरोको उच्च जोखिम छ । यसबाहेक, एक दर्जनभन्दा बढी स्थानमा पनि पहिरोको जोखिम रहेको छ ।

सडक विस्तार गरिएपछि तुइन खोलाको पहाडी भूगोल कमजोर बनेको छ । यहाँको करिब ३० मिटर लम्बाइ र करिब १५० मिटर उचाइको पहाड कमजोर भएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी अर्जुन घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार तुइन खोलालगायत जोखिमयुक्त स्थानमा पहिरोको रोकथाम गर्ने कार्य गरिँदै छ । तुइन खोला, नाम्सी खोला र काली खोलालगायतका स्थानमा पहिरो रोकथामका लागि आगामी मङ्सिरमा ठेक्का आह्वान हुने उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...