गण्डकी प्रदेशमा रोगको संक्रमण र कृषक पलायन प्रमुख चूनौती

हिमाली आवाज । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयको चालू आर्थिक वर्षको प्रथम समिक्षा पोखरामा सम्पन्न भएको छ ।

यही पुस ४ र ५ गते भएको चौमासिक समिक्षामा कृषकहरुको पलायनलाई चूनौतीका रुपमा लिइएको छ । पशुपन्क्षी उत्पादनको लागत वृद्धि हुनु र बैँक तथा वित्तिय संस्थाले वृद्धि गरेको ऋणको ब्याजदरले समेत पशुपालक कृषकहरु मारमा पर्दा पलायन हुनेहरुको संख्या बढेको ठम्याई जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुहरुको भनाई छ ।यसैगरी रोगहरुको प्रकोप बढ्नु र नयाँ रोगहरुको संक्रमण थपिदै जानुलाई समेत कार्यालयहरुले चूनौतीका रुपमा लिएका छन् ।

निर्देशनालय मातहतको ११ वटै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखहरुले कृषक पलायत र रोगको संक्रमण बढ्नुलाई चुनौतीमा रुपमा लिए भने थोरै जनशक्तिका भरमा काम गर्नुपरेको अवस्थालाई समेत उल्लेख गरेको निर्देशनालयका प्रमुख डा मनबहादुर पुनले बताउनुभयो । निर्देशनालय पहिलो चौमासिकमा २५ दशमलव ५१ प्रतिशत भारित र ३८ दशमलव ९१ प्रतिशत वित्तिय प्रगति भएको जनाएको छ । कार्यक्रममा निर्देशनालय सहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट प्रगति विवरणहरुको प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा निर्देशनालयबाट डा राजेशकुमार चौधरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङका प्रमुख डा ऋषिराम सापकोटा,कास्कीका प्रमुख शम्भुराज पाण्डे,गोर्खाका प्रमुख डा शर्मिला कुमाल,स्याङ्जा प्रमुख डा इन्द्रबहादुर भट्ट,पशु सेवा तालिम केन्द्र पोखराका प्रमुख शोभा शर्मा, भेटेरिनरी अस्पताल मनाङका प्रमुख नारायण कुशुम, म्याग्दीका प्रमुख जीवन आचार्य, मुस्ताङका प्रमुख दण्डपाणी शर्मा, पर्वतका प्रमुख रामजी प्रसाद पौडेल, मत्स्य विका केन्द्र मिर्मिका प्रमुख रविन्सन अधिकारी, नवलपुरका प्रमुख डा ऋषभ गुरागाई, लमजुङका प्रमुख डा रुपेश श्रेष्ठ र तनहुँका प्रमुख डा वालकुमार श्रेष्ठले प्रगति विवरण प्रस्तुत गर्नुभएको निर्देशनालयका अधिकृत सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

समिक्षा गोष्ठीको समापनका अवसरमा भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा सहदेव प्रसाद हुमागाईले न्यून जनशक्तिका बाबजुद पनि पहिलो चौमासिकमा भएको प्रगतिप्रति खुःशी व्यक्त गर्नुभयो ।

उहाँले जिल्लाहरुबाट आएका समस्याहरुलाई प्राथमिकिकरण गरी मन्त्रालयमा रिपोर्ट पठाउन आग्रह गर्नुभयो । सचिव हुमागाईले अहिले भएको जनशक्तिले मात्र भेटेरिनरी सेवा पुर्याउन सक्ने अवस्था नरहेकाले थप जनशक्तिका लागि पहल गरिने बताउँदै प्राविधिक सेवा टेवा कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्रालयका योजना महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले राष्ट्रिय योजना आयोग, प्रदेश नीति तथा योजना आयोग, मन्त्रालय लगायतका कार्यालयहरुबाट प्रकाशित हुने कार्यक्रमहरुका लागि सम्बन्धित कार्यालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले महामारीजन्य रोगहरुबाट हुने पशुधनको न्यूनीकरणका लागि स्पेशल टास्क फोर्सलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो ।

निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले समिक्षा कार्यक्रम अनुभव आदान प्रदानको थलो समेत भएकाले यसको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो ।

Comments
Loading...