पोखरामा हुने टाइगर कप राष्ट्रिय महिला÷पुरुष भलिबलको पुरस्कार दोब्बर वृद्धि

हिमाली आवाज । पर्यटकीय सहर पोखरामा आगामी माघ ८ गतेदेखी १४ सम्म ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखराले सोमबार पत्रकार सम्मेलन आयोजना गरी तेस्रो संस्करणको सो प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको छ ।

प्रतियोगितामा दुई विदेशी क्लबसहित महिला र पुरुषतर्फ पाँच÷पाँच टिम गरी १० टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको पुरस्कार राशीमा गत वर्षको तुलनामा दोब्बर वृद्धि गरिएको छ ।

प्रतियोगिताको च्याम्पियन महिला÷पुरुष दुबै टोलीलाई रु पाँच÷पाँच लाख, ट्रफी र उपविजेतालाई रु दुई लाख ५० हजारका दरले नगद र ट्रफी पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी तृतीय हुने टिमलाई नगद रु एक लाख २५ र सान्त्वना टोली महिला पुरुष दुबैलाई रु ६५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट एक÷एक जना खेलाडीले जनही समान नगद रु २५ हजार तथा हरेक विधाका पाँच जना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई रु १०÷१० हजार र ट्रफी प्रदान गरिने छ ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलालर्फ केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् । गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो ।

यसैगरी पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाली सेनाको आर्मीको त्रिभुवन आर्मी क्लब सहित एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गर्ने तयारी समेत रहेको संस्थाका कोषाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगितामा वृद्ध–वृद्धाहरुलाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तरकै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ ।

Comments
Loading...