गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले पूर्णता पायो,तीन मन्त्री थपिए

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आज साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार र यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन गरेपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नेकपा(एमाले)का दुई र नेकपा(माओवादी केन्द्र)बाट एक गरी आज तीन जना मन्त्री थपिनुभएको हो । यससँगै गण्डकीमा सरकारले पूर्णता पाएको छ ।

मुख्यमन्त्री अधिकारीले नेकपा(एमाले)बाट रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुन र बेदबहादुर गुरुङलाई कृषि, उर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त गर्नुभयो । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जालीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि मन्त्री नियुक्त हुनुभएका माओवादीका हरिबहादुर चुमानले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाृउनुभएको छ ।

यसैगरी नेकपा(एमाले)का सीता कुमारी सुन्दास आर्थिक मामिला र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनियताको शपथ लिनुभयो ।

गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा मन्त्रालय सङ्ख्या घटाएर सातमा झारिएको छ । मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन तोक्नुअघि प्रधामन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज विहान काठमाडौँमा परामर्श गर्नुभएको थियो ।

अधिकारी गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको हो । मुख्यमन्त्रीको शपथसँगै उहाँले तीन मन्त्री नियुक्त गरेपनि कार्यविभाजन बाँकी थियो ।

Comments
Loading...