माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सिम्खडा

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सुशीला सिम्खडा चयन हुनुभएको छ ।

माओवादी दलको बैठकले उहाँलाई प्रमुख सचेतक चयन गरेको हो । नेकपा(माओवादी)को केन्द्रीय सदस्य समेत रहनुभएका सिम्खडाले विसं २०४६ मा विद्यार्थी संगठनमा आवद्ध भएर राजनीति सुरु गर्नुभएको थियो । माओवादी जनयुद्धमा उहाँ लामो समय भूमिगत हुनुभयो ।

सिम्खडा गोरखाको भीमसेन थापा गाउँपालिका—४ स्थायी निवासी हुनुहुन्छ । प्रमुख सचेतक सिम्खडाले दलका तर्फबाट गर्नुपर्ने काम सहित संसदलाई प्रभावकारी बनाउने तर्फ लाग्ने बताउनुभयो ।

साठी सदस्सीय गण्डकी प्रदेशसभामा माओवादीका आठ सांसद छन् । गोरखा १(१)बाट प्रत्यक्ष निर्वाचित कृष्णप्रसाद धिताल प्रदेशसभाको सभामुख निर्वाचित हुनुभएको छ ।

यसैगरी प्रदेश सरकारमा माओवादीबाट दुई मन्त्री नियुक्त भएका छन् । संसदीय दलका नेता समेत रहनुभएका तनहुँबाट प्रत्यक्ष निर्वाचित हरिबहादुर चुमानले भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र म्याग्दीका रेशमबहादुर जुग्जालीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिनुभएको छ ।

Comments
Loading...