सामुदायिक विद्यालयमा विद्यार्थी घट्न थालेपछि ८८ वर्षीय भण्डारीको चिन्ता

–हरि बास्तोला
हिमाली आवाज । कुनैबेला आँपको चौतारामा पठनपाठन हुने गरेको पोखरा महानगरपालिका वडा नं १७ महतगौडामा अहिले भने सामुदायिक विद्यालयमा नै माध्यमिकतह सम्मको शिक्षासँगै बनबिज्ञान समेतको अध्ययन अध्यापन भैरहेको छ ।

शिक्षाको अपरिहार्यता महसुस गर्दै यहाँका स्थानीयवासी आजभन्दा झण्डै छ दशक अघिसम्म यहाँका आँपका चौतारा हुँदै खरले छायको छाप्रोमा पढ्ने गरेकोमा अहिले भने भौतिक रुपमा सुविधासम्पन्न जानकी माध्यमिक विद्यालयमा पठनपाठन भैरहेको छ ।
आँपको चौतामा पढाइभैरहँदा घाम तथा पानीको समस्या परेपछि तत्कालीन समयमा घरघरबाट चारमुठा खर र एउटा बाँस संकलन गरी छाप्रो बनाएर पढाउन थालिएको ८८ वर्षीय चुडामणि भण्डारीलाई झलझल्ती याद आउँछ ।

आफ्नो समयमा गाउँमा पठनपाठन सुरु नहुँदा दोपहरे मामाको घरमा बसी कृष्तीनाच्ने चौरमा बाह्रखरी पढेको अनुभव सुनाउँदै उहाँले त्यसै प्रेरणाबाट गाउँमा विद्यालय खोल्नका लागि सकृयता बढाइएको बताउनुभयो ।विसं २०२३ तिर गाउँमा नै पढाउनुपर्ने आवश्यकता महसुस गरी आँपको चौतारामा पढाउन थालिएको र पछि व्यवस्थित गराउँदै लैजाने क्रममा खर तथा बाँसको प्रयोग गरी छाप्रो बनाइएको उहाँले सुनाउनुभयो ।

विद्यालयले संस्थागत रुपमा भने झण्डै डेढ दशक पछि मात्रै २०३५ सालमा सरकारी मान्यता प्राप्त गरेको हो ।विद्यालय रहेको जग्गा सम्बन्धमा पनि लामो समयसम्म विवाद भएको स्मरण गर्दै भण्डारीले त्यसका सम्बनधमा आँफू लगायतले ११ वर्षसम्म तारिक बोक्नुपरेको दुःखेसो सुनाउनुभयो ।

“यहाँको विद्यालय स्थापना गर्न महतगौंडावासीको धेरै श्रम र पसिना खर्चिएको छ”, उहाँले भन्नुभयो, “दुःख गरेर बनाएको विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थी संख्या घट्नु चिन्ताको विषय बनेको छ ।”

गाउँका स्थानीयले निजी विद्यालयमा आफ्ना बालबच्चा पठाउन थालेका कारण पनि सामुदायिक विद्यालयमा केवल विपन्न, मजदुरका बालबालिका मात्रै पढाउने प्रचलन बढ्नुले राज्यको शिक्षाप्रतिको लगानी पनि अवमूल्यन भएको उहाँको भनाइ छ ।

महतगौडाकै ९४ वर्षीय चन्द्रकान्त भण्डारी आँफूहरूले पढ्न नपाएपनि सन्ततीका लागि शिक्षाको उज्यालो घाम लागोस् भन्ने उद्देश्यले विद्यालय खोलेको बताउनुहुन्छ ।

“तत्कालीन समयमा धनञ्जय भण्डारी तत्कालीन गाउँ मुखीया, देवदत्त भण्डारी , दानबहादुर मगर, धनराज सुवेदी, प्रेमलाल भण्डारी, नरहरि भण्डारी,जितबहादुर भण्डारी,धर्मदत्त भण्डारी लगायतको विद्यालय खोल्नमा ठूलो योगदान छ”, उहाँले भन्नुभयो, “समाजलाई सचेत बनाउनका लागि गरिएको प्रयासले यस क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”

तत्कालीन समयमा कसैको गाइबस्तुले खेतबाली खाइदिएमा तिर्नुपर्ने अर्मल समेत सम्बन्धित व्यक्तिले नलिइ स्कुल सञ्चालनका लागि जम्मा गर्ने गरेको उहाँले स्मरण गराउनुभयो ।
वन विज्ञान पढाई सञ्चालन
पछिल्लो समय सामुदायिक विद्यालयले प्राविधिक शिक्षामा जोड दिइरहेको वर्तमान अवस्थामा यस विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ ।

गण्डकी वहुप्राविधिक शिक्षालयको सहकार्यमा सिटिभिटीको अनुमति प्राप्त गरेर कास्कीमा पहिलो वन विज्ञान पढाई शुरु गरिएको यस सामुदायिक विद्यालयमा पहिलो बर्षमा १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिका अध्ययन अध्यापनमा आवद्ध हुनुहुन्छ ।

तीन बर्षको कोर्षका लागि कूल एक लाख २५ हजार शुल्क लिने गरिएको वन विज्ञान कार्यक्रम संयोजक शंकरराज भण्डारीले जानकारी दिनुभयो । विद्यालयको नयाँ भवनमा सञ