जोमसोम विमान दुर्घटना छानविन प्रतिवेदन : पाइलटको त्रुटि फेला

हिमाली आवाज । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९एन–एइटी÷डीएचसी६–३०० जहाज दुर्घटनामा चालक दलको त्रुटि भेटिएको छ । जहाज दुर्घटना पछि गठन भएको दुर्घटना जाँच आयोगले अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको छ ।

प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । आयोगका अनुसार मौसम खराब थियो । सोहीकारण पाइलटको आँखाले अगाडि के छ भनेर देख्ने अवस्था थिएन ।

‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएका कारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् । आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार यो सिस्टम अफ नगरी जहाज उडाएको भए दुर्घटनामा पर्नु भन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो ।

जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो । जहाजमा राखिएका प्रणालीहरुलाई सही तरिकाबाट उपयोग गर्न नसक्दा जहाज सिधै पहाडमा ठोक्किन पुगेको दुर्घटनाका कारणमा उल्लेख गरिएको छ ।

 

Comments
Loading...