अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल

हिमाली आवाज । अनलाईन पत्रकार सङ्घ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल सर्वसम्मत चयन हुनुभएको छ ।
सङ्घको आज सम्पन्न अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे र कोषाध्यक्षमा चन्द्रिका घिमिरे (अनिता) चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बस्नेत रहनुभएको छ ।

यसअघि अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुनेगरीनै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताउनुभएको थियो । उहाँले पत्रकारको हितमा सञ्चार विधेयक ल्याउने प्रतिवद्धता जनाउनुभएको हो ।

सरकारले आमसञ्चार विधेयक संसदमा दर्ता गरेरपनि विचाराधीन अवस्थामा राखेको छ । विधेयक कहिले अघि बढ्छ भन्ने बारेमा भने उहाँले केही उल्लेख गर्नुभएन ।मुख्यमन्त्री अधिकारीले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको बताउँदै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो,“अनलाईन पोर्टलको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल गरिएको देखिदैन । कतिपय अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ । अनलाईन मिडियालाई नियमन गर्न आवश्यक छ ।”

पत्रकारिता क्षेत्र गुणस्तरिय नहुँदा सोको असर अन्य क्षेत्रमा समेत पर्ने भएकाले मिडियालाई व्यवस्थित बनाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभुति हुने बताउनुभयो । पत्रकारका मुद्धाहरुलाई सरकारले सुनवाई गर्नुपर्नेमा उहाँको जोड थियो ।

पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक पत्रकारमैत्री हुनुपर्ने बताउनुभयो ।

कास्की शाखाका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्न गर्दै अनलाइनलाई व्यवस्थित गर्दै आमसञ्चार मिडियालाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले अनलाइन कान्छो विधा भएर पनि सबै भन्दा प्रभावकारी भएको उल्लेख गर्नुभयो ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले अनलाइनबाट अपेक्षा धेरै गरिएता पनि अनलाइनलाई नै संरक्षण गर्न सरकार मुकदर्शक बनेको उल्लेख गर्नुभयो ।

अनलाइन पत्रकार संघ गण्डकीका निवर्तमान अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसंचार विधेयक अनलाइन मिडिया मैत्री हुनुपर्ने धारणा राख्नुभयो ।

अनलाइन पत्रकार संघको अधिवेशन सफल पार्न सल्लाहकार केशव पाठकको संयोजनमा सदस्यहरु मधव बराल र सागरराज तिमिल्सिना गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले अनलाइन सञ्चार माध्यम दर्तादेखि नविकरण सम्मको काम झन्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नविकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका थिए ।

Comments
Loading...