हिमाली आवाज । जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ।

यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आइतबार सार्वजनिक बिदासमेत दिएको छ। जुम्ली किसानहरूले आइतबार आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिनुभयो ।
यहाँ कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको स्थानीयवासी बताउँछन्। जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।