सहारा फुटबल एकेडेमीमा चौथो व्याच सुरु गरिदै

हिमाली आवाज । फुटबल एकेडेमी सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रियस्त तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको सहारा क्लब पोखराले एकेडेमीमा चौथो व्याचका बालक भर्ना गर्ने भएको छ ।‘मन बचन र कर्मले सामाजिक सेवा गरौं’ नारा सहित विसं २०५८ मा पहिलोपटक क्लबले सामाजिक सेवा स्वरुप अनाथ बालकलाई राखेर फुटबल एकेडेमी सुरु गरेको थियो ।

आगामी बैशाखदेखि सुरु हुने नयाँ व्याचलाई क्लबले १० वर्ष एकेडेमीमा राख्ने जनाएको छ । एकेडेमीमा पहिलो व्याचमा विसं २०५८ मा २० जना, विसं २०६१ म दोस्रो व्याचमा २० जना र तेस्रो व्याचका रुपमा विसं २०७० मा २८ जना प्रशिक्षार्थी बालकहरु रहेका थिए । तेस्रो व्याचका ११ जनाले दशजोड दुई अध्ययन पूरा गर्दै एकेडेमीबाट विदाई भईसकेका छन् ।

बाँकीले समेत दशजोड दुई(प्लस टु)को परीक्षा सकिएपछि क्लबबाट विदाई गरिने सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताउनुभयो ।उहाँले भन्नुभयो,“ यसअघिका सफल अनुभवलाई संगाल्दै तेस्रो व्याचलाई बैखामा बिदाईपछि चौथो व्याच राख्ने छौं ।’ चौथो व्याचको लागि यही चैत मसान्तभित्रमा आवेदन आईसक्नुपर्ने छ ।”

क्लबले चौथो व्याचलाई झण्डै १० वर्ष एकेडेमीमा राखेर शिक्षादिक्षासँगै फुटबल प्रशिक्षण गराउने छ । अध्यक्ष गुरुङका अनुुसार ३० जना भन्दा बढी भएको अवस्थामा छनोट गरेर राखिने छ ।

एउटा व्याचलाई दशवर्ष एकेडेमीमा राख्दा क्लबले ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । “एकेडेमीमा राखेपछि बिदाई भईन्जेलसम्म झण्डै १० वर्ष क्लबले रु २० देखि रु ३० लाख खर्च हुन्छ ।” अध्यक्ष गुरुङले भन्नुभयो ।

सहारा क्लबले एकेडेमी सञ्चालनका लागि अक्षयकोष बनाएको छ । अक्षयकोषबाट प्राप्त व्याजलाई समेत एकेडेमीमा खर्च गर्दै आएको क्लबले जनाएको छ । अक्षयकोषमा हाल रु दुई करोड ४० लाख रहेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।

Comments
Loading...