‘सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान’

हिमाली आवाज । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महत्व समुदायले नबुुझ्दा समस्या पर्ने गरेको उनीहरुको भनाई छ ।

पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुुखी क्याम्पसले शनिबार आयोजना गरेको क्याम्पस र समुदायबीचको छलफलमा त्यसका क्षेत्रका बासिन्दाले समुदायले नै सामुदायिक संस्थालाई जोगाउनुपर्ने बताए । सामुदायिक संस्था त्यो समुदायको पहिचान समेत भएको उनीहरुको भनाई छ । सामुदायिक शैक्षिक संस्थालाई त झनै समुदायको सहयोग चाहिने उनीहरुले बताए ।

टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस संचालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभातिामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताउनुभयो । ‘गुणस्तरीय र संख्यात्मकमा मात्र ध्यान नदिई अब संस्कार पनि यस्ता सामुदायिक शैक्षिक संस्थाले सिकाउनुपर्ने आवश्यकता छ । किनकी पछिल्लो पुस्ता संस्कारका सिकाईबाट बिमुख हुँदै गएको छ,’ उहाँले भन्नुभयो ।

पोखरा–९, बास्तोलाथर टोल विकास संस्थाका प्रकाश बास्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको बताउनुभयो । उहाँले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने बताउनुभयो । ‘विद्यार्थीको रुची अनुसारको शिक्षा दिने हो भने नजिकैको क्याम्पसमा पक्कै आउनेछन, त्यसका लागि सबैको सहकार्य उत्तिकै महत्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीले कस्तो शिक्षा र विषय चाहेको हो भन्ने बुुझ्ने हो भने सामुदायिक संस्था पनि अब्बल हुनेछन् ।’

स्थानीय जनकल्याण महिला समुहकी अध्यक्ष बिमला परियारलले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभाकवको कर्तव्य पुरा नहुने बताउनुभयो । आफ्ना छोराछोरीले कस्तो पढेका छन र शिक्षकको अध्यापन शैली कस्तो छ भनेर अभिभाकवले पनि चाँसो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक सस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने सुझाव दिनुभयो । ‘सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिन्छ, सामुदायिक भन्नासाथ समुदायको भरमा चल्ने हो, यस्ता संस्थामा समुदाय पनि सहभागी हुनुपर्छ,’ श्रृष्ठले भन्नुभयो, ‘सहरको पहिचानमा विभिन्न सुविधा चाहिए जस्तै सामुदायिक शैक्षिक संस्था पनि आवश्यक छ । पोखराको पहिचान भित्र सामुदायिक क्याम्पस पनि पर्छ ।’

पोखरा बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठले सामुहिक प्रयासमा क्याम्पस संचालन भएकोले अबको बाटोमा पनि समुदायको साथ चाहिने बताउनुभयो । संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने भनाई राख्नुभयो ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले महंगो स्वास्थ्य र शिक्षाका कारण अहिले स्वदेशमा भविश्य सुरक्षित नदेखेर धेरै युवायुवती विदेशिएकोले उनीहरुलाई रोक्नका लागि पनि सामुदायिक संस्था महत्वपूर्ण रहेको बताउनुभयो ।

विस २०४४ सालमा स्थापना भएको यो क्याम्पस अहिले पोखरा–९ शान्तिबन बाटिकामा संचालित छ । क्याम्पसमा चारवर्षे स्नातक तहमा बिए र बिबिएस अध्यापन हुन्छ ।

Comments
Loading...