सुमन देवकोटाको अध्यक्षतामा गण्डकी प्रदेश ट्रायथोलन संघ गठन

हिमाली आवाज । नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा सुमन देवकोटा सर्वसम्मत चयन हुनुभएको छ ।पोखरामा आज भएको भेलाले देवकोटाको अध्यक्षतामा नौ सदस्सीय समिति गठन गर्दै पहिलो पटक नेपाल ट्रायथोलन सङ्घको प्रदेश समिति गठन गरेको हो ।

अध्यक्षमा चयन हुनुभएका देवकोटा यसअघि संघको कास्की अध्यक्ष हुनुहुुन्थ्यो । देवकोटा कास्की जिल्ला खेलकुद विकास समितिको पूर्वअध्यक्ष समेत हुनुहुन्छ । नवनिर्वाचित अध्यक्ष देवकोटाले गण्डकीमा ट्रायथोलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादनमा संघले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैगरी संघको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर(देवेन्द्र) केसी सर्वसम्मत चयन हुनुभयो ।यसैगरी समितिको सदस्यहरुमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा रहनुभएको छ ।

नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइरालाको अध्यक्षतामा भएको भेलाले प्रदेश समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रायथोलन संघका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले देशको संघीय संरचना र पछिल्लो पटक लागू गरिएको खेलकुद विकास ऐन अनुसार गठन गरिएको पहिलो प्रादेशिक समितिले आफ्नो काम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घले पोखरामा वर्षेनी एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको र आगामी दिनमा यसको व्यवस्थापनका लागि गण्डकी संघ सक्षम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले केन्द्रबाट आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । जिल्ला खेलकुदमा सुमन देवकोटाले नेतृत्व लिँदा खेल क्षेत्रले कोल्टे फेरेको स्मरण गर्दै गण्डकी प्रदेशमा ट्रायथोलन खेल विस्तारमा नवगठित समिति सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा ट्रायथोलनका लागि देशकै हब बन्न सक्ने बताउनुभयो ।

नवनिर्वाचित संघलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...