पोखराको रत्न मन्दिर सर्वसाधारणलाई खुला गर्ने तयारी

हिमाली आवाज । पर्यटकीय शहर पोखरास्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर(दरबार) देशमा गणतन्त्र आएको डेढ दशक वित्दा समेत अझै सर्वसाधारणका लागि खुला भएका छैनन् ।

तत्कालीन राजपरिवारका देशका अन्य भागमा रहेका दरबार खुला हुँदा समेत पोखराका यी दुई दरबार खुला नभएपछि यहाँका पर्यटन व्यवसायीले लामो समयदेखी सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा स्व.वीरेन्द्र तथा उनीहरूका परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न मन्दिर र हिमागृह नेपाल ट्रष्टको स्वामित्वमा छ ।

पोखरामा रहेका यी दुई दरबारहरु खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटकको बसाई लम्ब्याउनुपर्ने यहाँका पर्यटन व्यवसायीले आवाज उठाउदै आएपनि लामो समयसम्म पूरा भएको छैन ।

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले रत्न मन्दिरको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री किरातीले मन्दिरका बारेमा सबै जानकारी लिनुभयो ।

सो अवसरमा उहाँले दरबार खुला गर्ने योजना अनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको बताउनुभयो । नयाँवर्ष सुरु भएसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गर्नका लागि काम अघि बढ्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले धेरै कुरा किनारा लगाउँदै गएका छौँ । ठूला योजना विस्तार गर्दै लैजाऔँला, हालका लागि यहाँ भएकाहरुलाई अलि सुन्दर बनाएर दरबार खोल्नुपर्दछ भनेर भनेका छौँ।”

मन्त्री किराँतीले नेपाल ट्रष्ट यसअघि रक्षा र गृह मन्त्रालय मातहत रहेकाले लामो समय बैठकनै नबस्ने गरेकाले समेत केही ढिलाई भएपनि अहिले पर्यटन मन्त्रालय मातहत आएकाले काम छिटो हुने बताउनुभयो ।

पर्यटन मन्त्री किरातीले रत्न मन्दिरमा कुनै व्यावसायिक भवन बनाउने तथा व्यापारिक समूहलाई भाडामा दिने कुरा हुन नसक्ने भन्दै पोखरेलीबासीको भावना अनुसारनै काम हुने बताउनुभयो ।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गर्नुभएको थियो ।

विसं २०१३ मा यो दरबारको निर्माण सुरू गरिएको थियो । तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र उनका परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रष्टको स्वामित्व छ ।

Comments
Loading...