पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघहरुको सामूहिक प्रतिवद्धता

हिमाली आवाज । कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् ।

शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरें । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले खेलाडीलाई खेल जीवनबाटै जीवन धान्न सक्ने अवस्था बनाउनुपर्ने बताउनुभयो । कास्की जिल्ला कबड्डी संघका अध्यक्ष समेत रहनुभएका उहाँले अवार्ड कार्यक्रमलाई सफल बनाउन प्रतिवद्धता जनाउनुभयो।

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गोदारले खेल संघबिच समन्यवको कमी हुँदा अर्काले फाइदा लिएको गुनासो गर्दै अवार्ड कार्यक्रमको आयोजनाले खेल क्षेत्रमा उत्साह थपिएको सुनाउनुभयो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड कार्यक्रम पारदर्शी हुनुपर्ने बताउनुभयो । के कारणले अवार्ड पाए भन्ने जिज्ञाशा सबैको हुने भएकोले यो जिज्ञाशा मेटिनेगरी प्रतिभा छनोट गर्न सुझाव दिनुभयो ।

कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले राज्यले बाँड्ने अवार्ड पुरस्कार फेयर नहुने भएपनि पत्रकारले गर्ने कार्यक्रमले सही प्रतिभा छनोट गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताउनुभयो । गण्डकी प्रदेशको कार्यक्रम हो भन्ने सन्देश जाने भएकोले सबै मिलेर यसलाई सफल बनाउनपर्नेमा उहाँले जोड दिनुभयो ।

कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले विगतका अवार्ड कार्यक्रमबाट पाठ सिकेर थप आर्कषक रुपमा कार्यक्रम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

साइकलीङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले छनोट समितिमा खेलसंघका व्यक्ति राख्न सुझाउनुभयो । मञ्चले खेल क्लबलाई समेत समेट्न खोज्नु सकारात्मक भएको उहाँको भनाई थियो । नेपाल स्ट्रोङगेष्ट क्यँोकुशिन कराते संघका अध्यक्ष कृष्ण बहादुर नेपालीले डाटा संकलन समयमानै हुनुपर्ने बताउनुभयो ।

कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष बसन्त गौचनले अवार्ड कार्यक्रम सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो ।कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले खेलाडीलाई प्रोत्साहन दिने यो कार्यक्रम बृहत भएको बताउनुभयो ।सहारा क्लब पोखराका सचिव सुनिल रानामगर अवार्ड कार्यक्रममा व्यवसायीहरुलाई पनि जोड्नुपर्ने सुझाउनुभयो ।नेपाल ट्रायथोलन संघ कास्कीका अध्यक्ष वामदेव सुवेदीले अवार्ड कार्यक्रमलाई सहयोग गर्ने बताउनुभयो ।

उनीहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल, सल्लाहकार विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मेटाउनुभयो । अघिल्ला संस्करणबाट सिकेको पाठका कारण कमीकमजोरी हुन नदिन मेहनत गर्ने बताउनुभयो ।
आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाउनुभयो ।

 

Comments
Loading...