गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी विश्वासको मत पाउन असफल, सरकार ढल्यो

हिमाली आवाज ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सदनबाट विश्वासको मत लिन असफल हुनुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रश्ताव बहुमतले अस्वीकृत भएको सभामुख कृष्णप्रसाद धितालले सभामा घोषणा गर्नुभएको थियो ।

प्रदेशसभा बैठकमा ५९ जना सदस्य उपस्थित भएकामा प्रश्तावको पक्षमा जम्मा २४ र विपक्षमा ३५ मत खसेको थियो । सदनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त हुनुभएको छ । अब गण्डकीमा नयाँ सरकार गठन हुनेछ ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री अधिकारीलाई नेकपा(एमाले)का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी २४ सदस्यले विश्वासको मत दिएका थिए । यसैगरी विपक्षमा नेपाली काँग्रेससका २७, माओवादी केन्द्रका सात र स्वतन्त्र एक गरी ३५ जनाले मत जाहेर गरे ।

नेकपा(एमाले) संसदीय दलका नेता अधिकारी गत पुस २५ गते एमाले सहित, नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

गत चैत १० गते माओवादी केन्द्रले अधिकारी नेतृत्वको सरकारबाट राजीनामा दिएर सरकारलाई समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले संविधान अनुसार दोस्रो पटक विश्वासको मत लिनुभएकामा असफल हुनुभएको हो ।

Comments
Loading...