गण्डकी प्रदेशस्तरिय परम्परागत तारा खेलको उपाधि बागलुङले जित्यो

हिमाली आवाज । दोेश्रो गण्डकी प्रदेश स्तरिय परम्परागत तारा खेलको उपाधि बागलुङले जितेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मुस्ताङ थासाङ–३ लेतेमा बिहिबार सम्पन्न प्रतियोगितामा बागलुङले म्याग्दीलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो । उपाधि संगै बागलुङले नगद ७५ हजार र शिल्ड प्राप्त गर्न सफल भएको छ ।

निकै प्रतिष्पर्धात्मक बनेको प्रतियोगितामा बागलुङले कुल ८३ अंक प्राप्त गर्दै उपाधि जित्दा म्याग्दी जिल्ला २ अंकले पछि पर्दै ८१ अंकका साथ उपविजेता बनेको छ । उपविजेता भएको म्याग्दीले नगद ५० हजार हात पार्न सफल भयो ।

त्यस्तै प्रतियोगितामा मुस्ताङको ‘ए’ टिम भने तेश्रो भएको छ । मुस्ताङले कुल ७८ अंक प्राप्त गर्न सफल भयो । कास्की ७७ अंकका साथ चौथो भएको छ । तेश्रो भएको मुस्ताङले ३० हजार नगदका साथमा कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा म्याग्दीको टिका बहादुर शेरपुञ्जा मगर सर्वश्रेष्ठ धर्नुधर घोषित हुनुभयो । उहाँले व्यक्तिगत २० अंक प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगितामा विशिष्ट धर्नुधरको उपाधि बागलुङका सुनिल बुढा मगरले प्राप्त गर्न सफल हुनुभयो ।सर्वश्रेष्ठ धर्नुधर भएका टिकाले नगद रु ५ हजार र विशिष्ट धर्नुधर घोषित सुनिलले नगद रु ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पार्नुभयो ।

प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमका ३६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता थासाङ गाउँपालिका ३ लेतेस्थित गाउँसमाज भवनमा सम्पन्न भएको थियो । स्थानिय रुपमा निर्मल स्पोर्टिङ क्लवले प्रतियोगिताको सह–व्यवस्थापन गरेको थियो भने आमा सुमह लगायत स्थानिय व्यवसायी लगायतले सहयोग गरेका थिए ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई थासाङ ३ का वडा अध्यक्ष हरिप्रसाद गौचन, लेते गाउँ मुखिया रविन्द्र तुलाचन, निर्मल स्पोर्टिङ क्लवका महेन्द्र गौचनलगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रदेख खेलकुद परिषद गण्डकीले गत वर्षबाट गण्डकी प्रदेशमा खेलिने विशेष परम्परागत खेलको संरक्षण र सम्वद्र्धनका लागि प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । गण्डकी प्रदेशका हिमाली जिल्लामा खेलिदैं आएको तारा खेल विशेष पर्वहरुमा आयोजना हुने गर्दछ ।

Comments
Loading...