हिमाली आवाज । पहिराले मुग्लिन – नारायणगढ सडक दुईतर्फी अवरुद्ध हुँदा हजारौँ यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको छ ।
सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।