हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताउनुभएको छ ।
‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो,‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमवार पोखरामा आयोजित प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण सम्बन्धी गोष्ठीमा उहाँले सो कुरा बताउनुभयो ।

‘तपाईहरु उच्च मनोबल राखेर काम गर्नुहोस्’ सुरक्षा समितिका सदस्यहरुलाई उहाँले भन्नुभयो । भौगोलिक बिकटताका कारण शान्ति सुरक्षा कायम गर्न र बिपद् जोखिमक न्यूनिकरण, राहत, उद्धार, पुर्नस्थापना जस्ता काममा समस्या भोग्नु परेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
बिपद् जोखिम न्यूनिकरण गर्न प्रदेश सरकारले १० करोडको विपद् कोष बनाएको बताउँदै मुख्यमन्त्री पाण्डेले जिल्ला तहमापनि प्रदेशले १०÷१० लाख नघट्ने गरि विपद् कोषमा रकम पठाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘विपद्का सवालमा प्रदेश सरकार गम्भिर छ, हामीले बिभिन्न सुरक्षा निकायलाई बिपद्का बेला प्रयोग हुने सामग्री खरिद गरेर पनि सहयोग गर्दै आएका छौँ ।’
गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाको अवस्था, चुनौती, बिपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षा लगायतका बारेमा जानकारी गराएका थिए ।
गण्डकी प्रदेशका प्रमुख सचिव रबिलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश स्थित प्रमुखहरुले समेत धारणा राखेका थिए । गोष्ठीमा भएको छलफल र आएका सुझाबलाई केन्द्रित गरेर प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताउनुभयो ।