हिमाली आवाज । पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित छैठौ रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार यस वर्ष पोखराका चर्चित फोटो पत्रकार राम गुरुङले पाउने हुनुभएको छ ।
पोखरा फोटोग्राफर संघको आज भएको ४२ औ वार्षिक उत्सवको अवसरमा पुरस्कृत ब्यक्तित्वको नाम घोषणा भएको हो । पोखरा फोटोग्राफर संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवी र उहाको धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्ना स्वर्गिय पिता माताको नाममा स्थापना गर्नुभएको यस पुरस्कार फोटोग्राफीको माध्यमबाट समाजमा उल्लेखनिय भूमिका खेल्ने बरिष्ठ फोटो ग्राफरहरुलाई प्रदान गरिदै आएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने यो पुरस्कार रकम रु २५ हजार ५५५ र सम्मानपत्र रहेको छ ।
बिश्व फोटोग्राफी दिवस अगस्ट १९ को अवसर पारेर सो पुरस्कार बितरण गर्ने गरिन्छ । यो वर्ष पनि आगामी भाद्र २ गते एक कार्यक्रमका बिच यो पुरस्कार बितरण गरिने भएको छ । यस अगाडि यो पुरस्कारबाट पोखराका बरिष्ठ फोटोग्राफर बिश्वरत्न शाक्य, नारायण बाटाजू, रमा राना, मदन सुब्बा र दमौलीका कुमार मोहन श्रेष्ठ सम्मानित हुनुभएको छ ।
पुरस्कार छनोट समीतिको सदस्यमा घनश्याम पाौडेल संयोजक तथा सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, रामचन्द्र पोख्रेल, देवानन्द पोख्रेल, सन्देश उदास, टिकाराम पराजुली र अक्षयकोषदाताको तर्फबाट तिर्थ श्रेष्ठ रहनुभएको थियो ।
फोटो पत्रकार गुरुङ गुरुङ बिगत २४ वर्ष देखी पोखरा क्षेत्रमा फोटोपत्रकारिता र अझ पोखरा सिटी डटकम मिडिया सञ्चालन गर्दै आउनुभएको छ । उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बिभिन्न फोटोग्राफी तथा फोटोपत्रकारिताका पुरस्कार पाउनुभएको छ ।
पोखराका बिभिन्न मिडियामा फोटोपत्रकारको रुपमा कार्यरत राम गुरुडले सहारा खेलकुद पत्रकारिता पुरस्कार २०६७, राष्ट्रिय फोटोपत्रकार अवार्ड २०७३, तमु पत्रकारिता प्रोत्साहन पुरस्कार २०७४, आदीबासी जनजाती महासंघ स्वतन्त्र फोटोपत्रकारिता अवार्ड २०७४, नेपाल भूतपूर्व खेलाडी मञ्च पत्रकारिता पुरस्कार २०७८, गजेन्द्र भण्डारी स्मृति पुरस्कार २०७७ लगायतबाट सम्मानित हुनुभएको छ ।