प्रतिभा माविमा अभिमूखिकरणः ‘सपना देख्न आँखा होईन, हिम्मत चाहिन्छ’

हिमाली आवाज । यहाँको पालिखे चोकस्थित प्रतिभा माविले विज्ञान विषय अध्ययन गर्नेगरि विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिबार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ ।

विषयगत विज्ञ बोलाएर विद्यार्थीलाई अभिमूखिकरण गर्दै आएको विद्यालयले शनिबार विज्ञान विषयका विद्यार्थीका लागि अभिमूखिकरण गर्नेगरि ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष श्रृष्टि केसीलाई निम्त्याएको थियो । दश कक्षामा अध्ययनरत रहँदा गलत उपचारले दृष्टि गुमाएकी केसी हाल दृष्टिविहीको क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

दृष्टि गुमाएपछि सबैले भविश्य सकिएको भनेर गुनासो गरिरहँदा केसीले भने अध्ययनमा अब्बलता देखाएर उत्कृष्ट ननिजा हासिल गर्न सफल हुनुभयो । दृष्टिविहीन हुनुपर्दाको अवस्था र आफु कसरी सफल हुन सकिन्छ भनेर केसीले विज्ञान विषयका विद्यार्थीका लागि मन्तव्य दिनुभयो ।

‘मैले दृष्टि गुमाउँदै गर्दा मेरा लागि शिक्षामा खर्च नगर्न कतिपयले मेरा अभिभावकलाई भनेका थिए । तर, मैले मेरो आत्मा बलियो बनाएर अध्ययन गरे । त्यसले मलाई सफलता दिलायो,’ सफलताको कथा सुनाउँदै केसीले भन्नुभयो,‘यतिसम्मकी दृष्टिविहीन हुनुपर्दा मलाई धेरै कलेजले भर्ना लिन मानेका थिएनन । तर, मैले पाएको अवसरलाई उपयोग गर्नेगरि निकै नै दुखका साथ अध्ययन गर्दा सफलता हात लागेको थियो ।’

उहाँले आफुले आफुलाई कहिल्यै कमजोर नदेख्न अरु विद्यार्थीलाई पनि आग्रह गर्नुभयो । ‘भोलिका लागि आज राम्रो गर्नुपर्छ । चाहने हो भने हरेक क्षेत्रमा सफलता मिल्छ,’ उहाँले भन्नुभयो,‘म सक्दिन भनेर कहिल्यै हरेस नखानु । सपना देख्न आँखा होईन, हिम्मत चाहिन्छ ।’

कक्षा ११ मा भर्ना भएका विज्ञान विषयका विद्यार्थीका लागि आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले ११ र १२ कक्षामा गरेको दुइवर्षको मेहनतले साच्चै राम्रो भविश्य हुने बताउनुभयो। ‘अबका दुइवर्ष जिन्दगीका लागि सबैभन्दा महत्वपूर्ण समय हो । यो अवधिको मेहनतले जिन्दगी उज्यालो हुन्छ,’ उहाँले भन्नुभयो । प्रतिभा माविले शक्तिशालि भन्दा पनि असल व्यक्ति बन्न सघाउने बताउनुभयो । ‘हामी अबका विद्यार्थीका सफलताको कथा लेख्न आएका हौ, त्यसमा सबैको साथ चाहिन्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विद्यार्थीलाई राम्रो व्यक्तिको संगत गर्न सुझाव दिनुभयो । ‘अहिलेको समय यस्तो छ की एकमिनेटमै भाइरल बन्ने बेला हो । त्यसैले संगत राम्रो गरेर अब्बल बनेर निस्कनुपर्छ,’ उहाँले भन्नुभयो,‘नकारात्मक नभई सकारात्मकताको बाटोमा अघि बढ्नुपर्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले भविश्य कता लैजाने भन्ने अबको अध्ययनले बताउने बताउनुभयो। ‘अबका दुइवर्ष साहै्र नै महत्वपूर्ण समय हो । यो समय खेर जान दिनुहुन्न, भविश्य कोर्ने अबको समयले हो,’ पौडेलले भन्नुभयो ।

कार्यक्रममा गायक शिव परियारले झन्डै एकदर्जन गीत गाएर विद्यार्थीलाई मनोरञ्जन दिलाउनुभयो । यसअघि विद्यालयले शुक्रबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत र अभिमूखिकरण कार्यक्रम आयोजना गरेको थियो ।

Comments
Loading...