चारदिनदेखी उठेन पोखराको फोहोर

हिमाली आवाज । पर्यटकीय शहर पोखरामा चारदिनदेखी फोहोरमैला नउठ्दा दुर्गन्ध फैलिएको छ ।

पोखरा महानगरले अस्थायी ल्याण्डफिल साइट बनाएको पोखरा—३२ मा स्थानीयवासीले महानगरको फोहारमैला लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखी बजारको फोहोरमैला उठ्न नसकेको हो ।

पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँजबार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहोरमैला थुप्रिएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षोदेखीको ल्याण्डफिल साइटमा फोहोरमैला लैजान रोकिएको थियो ।

त्यसपछि महानगरले अस्थायी रुपमा पोखरा—३२ लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो ।
स्थानीयले लामेआहालमा महानगरले फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभाबी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै फोहोर लैजान अवरोध गरेका हुन् ।

महानगरले छ महिनाभित्रमा फोहोर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिवद्धता जनाएपनि हालसम्म कुनै काम अघि नबढाएको आरोप लगाएका छन् । स्थानीय अवरोधपछि पर्यटकीय शहरको फोहोर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको हो ।

पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ ।

पोखरा—३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयवासीका मागहरु पूरा गरी सहज रुपमा फोहोरमैला लैजानका लागि छलफल भइरहेको बताउनुभयो ।

ल्याण्डफिल साइडको सही ढङ्गले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहोरबोक्ने गाडीका कारण बाटो हिलो र जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीयवासीको रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“राम्रोसँग फोहोरमैला व्यवस्थापन हुनुपर्छ भन्ने र सडक राम्रो बनाइदिनुपर्दछ भन्ने मुख्य माग स्थानीय जनताको छ । हामीले त्यसका लागि प्रतिवद्धता समेत जनाएका छौँ । महानगर प्रमुखले स्थानीयलाई छलफलमा बोलाउनुभएको छ। भोलीभित्रमा सहमति हुन्छ होला ।”
महानगर प्रमुख धनराज आचार्यले ल्याण्डफिल साइट क्षेत्रका स्थानीयवासीसँग सम्वाद भइरहेको बताउनुभयो । उहाँले बजार क्षेत्रमा सडकमा ल्याएर फोहारमैला नफाल्न समेत पोखरावासीमा आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो,“ल्याण्डफिल्ड साईटमा फोहर लैजान केही अबरोध भएकाले चारदिन देखि फोहोर उठाउन सकिएको छैन, हामी सम्वादमा छौ । डेङ्गु बढिरहेको अबस्थामा फोहर उठाउन नपाउदा दुखित भएपनि आशा गरौ छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ ।फोहोर उठाउने गाडी नआउदा सम्म प्रतीक्षा गरौँ र सडकमा फोहोर नफाल्न आग्रह गर्दछु ।”

पोखरा महानगरले यसअघि गत पुसमा छ महिनाका लागि भनेर लामेआहालमा अस्थायी फोहोरमैला व्यवस्थापन सुरु गरेको हो । महानगरले पोखरा—३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहोरमैला व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ ।

Comments
Loading...