—कृष्ण दवाडी
हिमाली आवाज । कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकहरुको यतिबेला घुइँचो लागेको छ । दशैँअघिदेखीनै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्टहरु भरिभराउ भएका छन् । घटस्थापनादेखी आन्तरिक तथा बाह्य पर्यटक आगमन सुरु भएकामा दशैँको टीकाको भोलीपल्टदेखी पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीहरुले बताएका छन् ।
मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ । पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेनर फर्किन सकिने भएकाले समेत अधिकाँसको रोजाईमा पर्ने गरेको छ ।
हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अघि ठडिएका हिमश्रृङ्खला अनि हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाडाँकाडाँ र बस्तीहरुले पर्यटक तानेको छ ।प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटकहरु लाभिने गरेका छन् ।
कुमारी माछापुच्छे हिमाल सहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुली लगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण वर्षेनी बढ्नेको गरेको छ ।
मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले अहिले मर्दी पदयात्रा गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार पर्यटक आगमनबढेसँगै व्यवसायीलाई उनीहरुको स्वागत सत्कार र आतिथ्यतामा भ्याइनभ्याई छ ।
“कोभिडले थला परेको पर्यटनलाई अहिलेको पर्यटक आगमन बढ्दा उत्साहित भएका छौँ । दशैँको भोलीपल्टदेखी हामीलाई पर्यटकको व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । ” तामाङले भन्नुभयो ।

मर्दी पदयात्रामा ६० वटा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । यहाँ दैनिक पाँच सय ५० हाराहारीमा पर्यटकलाई बास बस्न सक्ने क्षमता छ । कुनै दिन पर्यटक आगमन दैनिक पाँच सय भन्दा बढी हुने गरेको बताइन्छ ।
दुईदिनअघि मर्दीको पदयात्रा गर्नुभएका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले मर्दीको पदयात्रा गर्दा आफू रोमाञ्चित बनेको बताउनुभयो । ‘भ्यूवाइन्ट’बाट देखिने सुन्दर दृश्यावलोकनले पदयात्रामा भोग्नुपरेका सबै थकान र कष्ट एकै क्षणमा भुलिने उहाँले सुनाउनुभयो ।
बरालले भन्नुभयो,“मर्दी ट्रेकिङ नेपालीहरुको प्रमुख रोजाईको पदयात्रा गन्तव्य बनेको छ । यसबाट आर्थिक गतिविधिमा योगदान दिएको छ, त्यहाँ गएर बस्न खान कुनै समस्या छैन । पारिवारिक यात्राको राम्रो गन्तव्य समेत बनेको छ ।”
‘भ्यूवाइन्ट’मा शौचालयको अभावका कारण पर्यटकरु समस्यामा परेको देखिएको बताउँदै प्रदेशसभा सदस्य बरालले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा सुरु हुन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।
माछापुच्छ«कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना,अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् ।लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर(एमविसी) पुगिन्छ ।
‘भ्यू प्वाइन्ट’बाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमाल सहित पोखरा उपत्यका लगायतका स्थानहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
अधिकाँस पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँको रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् ।
मर्दी पदयात्रा छोटो समयको पदयात्राका रुपमा रहेकाले एक÷दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकाले पर्यटकको रोजाईमा पर्ने गरेको पदयात्रा क्षेत्रमा पर्ने होटल कालीमाटीका सञ्चालक शिव भण्डारीले बताउनुभयो ।