आइटिएफ टेनिस:आरभ र रिकु तथा आसाकुरा र महेश्वरी च्याम्पियन

हिमाली आवाज । पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस महासङ्घ(आइटिएफ) को जे—३० प्रतियोगितामा पुरुष डबल्सतर्फ नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी च्याम्पियन बनेको छ ।महिलातर्फ भने जापानका उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम हुन सफल भयो ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न डबल्सतर्फको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ मा पराजित गरी आरभ र रिकुको जोडी प्रथम हुन सफल भयो ।

महिलातर्फ भारतका भेनेला रेडी गारुगुपाटी र सायवी गौरव दलालको जोडीमाथि आसाकुरा र महेश्वरीको जोडीले ६–३, ६–३ मा जित हासिल गरेको हो ।यसैगरी प्रतियोगिताको पुरुषतर्पm उपाधिका लागि आरब सम्राट हाडा र एलेक्से सिवोइले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष एकलतर्फको आज सम्पन्न सेमिफाइनलको खेलमा आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जित हासिल गर्दै फाइनलमा स्थान बनाउनुभयो ।

महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवाला फाइनल पुग्नुभएको छ । आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका सर्मालाई ६–१, ६–० मा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभयो ।

दुईसाता देखी सञ्चालन भइरहेको प्रतियोगिताको समापन शनिबार हुने आयोजक कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको डबल्सतर्फको विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिष्द गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रतियोगिता निर्देशक अजय विष्ट लगायतले मेडल तथा प्रमाणपत्र पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गरेका छन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ ।
विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिष्टले नौ ,क्वाटरफाइनलिष्टले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क पाउने प्रतियोगिता निर्देशक विष्टले बताउनुभयो ।

Comments
Loading...