विन्ध्यवासिनी धार्मिक क्षेत्रलाई दुई लाख २२ हजार राशीको श्रीपती समाजसेवा पुरस्कार

हिमाली आवाज । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० आज विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिएको छ ।

मन्दिरको विकाससँगै मानवीय सेवामा समेत समर्पित समितिलाई गुठीको ३१ औं साधारण सभाको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव तीर्थ श्रेष्ठलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ सहित ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गर्नुभयो ।

विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति नेपालको प्रमुख शक्ति पीठहरु मध्यमा पर्दछ । समिति मन्दिरको संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा काम गरिरहेको छ ।

समितिले बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विन्ध्यावासिनी बौधिक विद्याश्रम, विभिन्न देवी देवताका मठ मन्दिरहरु निर्माण गरेको छ ।

यसैगरी विन्ध्यबसिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासीय रुपमा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्रको रुपमा दिवा सेवासमेत सञ्चालनमा छ ।
प्राकृतिक चिकित्सालय, एम्बुलेन्स सेवा तथा शारीरिक असक्षमता भएका नागरिक र ज्येष्ठ नागरिकका लागि मन्दिर दर्शका लागि विद्युतीय भ¥याङ राखेर समाज सेवा गरेका कारण पुरस्कृति गरिएको गुठीका सदस्य सचिव नवराज कोईरालाले बताउनुभयो ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् ।

साधारण सभाको अवसरमा शिक्षा क्षेत्रतर्फ विभिन्न तहमा सर्वोत्कृष्ठ ठहरिएका विद्यार्थीहरुलाई श्रीपती विद्या पदक प्रदान गरिएको थियो भने गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

श्रीपती कोईराला गुठी १८६४ सालमा जन्मनुभएका श्रीप्रसाद कोईरालाको नाममा स्थापित संस्था हो । विद्वान श्रीपतीले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा दिएको पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, पस्र्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोईरालाले जानकारी दिनुभयो ।

Comments
Loading...