पोखरामा गौशाला व्यवस्थापनका लागि महायज्ञ

हिमाली आवाज । पोखरा बजार क्षेत्रमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि पोखरा—१४ मा गोकुल धाम (गौशाला) सञ्चालनमा ल्याइएको छ ।

छाडा चौपाया गौशालामा राखेपछि यसबाट सडक सुरक्षित बन्ने र यातायात व्यवस्थापन सजिलो हुने विश्वास छ तर गौशालाको दिगो सञ्चालन स्रोत छैन ।

महानगरले सञ्चालन गरेको सो गौशाला दिगो व्यवस्थपनका लागि स्रोत जुटाउने उद्धेश्यले महायज्ञ सुरु गरिएको छ ।पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासंघ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा बिहीबारदेखी श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको हो ।

महायज्ञबाट पोखराको सडकमा बेवारिसे अवस्थामा छाडा छोडिएका पशुचौपायहरुको उद्धार गरी संरक्षण प्रदान गरिएको गोकुल धाम (गौशाला) को दिगो व्यवस्थापनमा सहयोग पुग्नेछ ।

राष्ट्रिय परोपकार महासंघ नेपालका संस्थापक एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले गौ माताको सेवाका लागि नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो । मन, बचन र कर्मले गौसेवाको पवित्र कार्य गर्न उहाँले आह्वान पनि गर्नुभयो ।

गौतमले भन्नुभयो,“एकै बोरा चोकर किन नहोस्, एकै भारी पराल किन नहोस्, एकै दिनलाई पिलाउन पुग्ने पानी किन नहोस्, जे सक्नुहुन्छ, त्यही साथ सहयोग गौशाला परिसरमै भइरहेको यज्ञलाई माध्यम बनाएर सहयोग गर्न सक्नुहुनेछ । मन, बचन र कर्मले यसको उन्नयनका लागि यहाँहरूको सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।”

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बढ्दो जनघनत्वसँगै पोखरामा जथाभाबी रूपमा छोडिएका पशुचौपायका कारण सडक असुरक्षित बन्दै गइरहेको बेला ती पशुचौपायहरुको व्यवस्थापनका लागि व्यवस्थित गौशाला सञ्चालन गरिएको बताउनुभयो ।

गौशाला निरन्तर सञ्चालनका लागि महानगरले सहयोग गर्ने प्रतिवद्धना जनाउँदै उहाँले भन्नुभयो,“दिगो सञ्चालनका लागि महानगरपालिकाको तर्फबाट सवैप्रकारको सहयोग गर्नेछौँ ।”

पोखरा महानगरपालिका वडा नं.१४ का वडाध्यक्ष बोध बहादुर कार्कीले १९ वर्षसम्म फोहोरको विसर्जन गरिएको क्षेत्रलाई व्यवस्थित गौशालाले थप पवित्रता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

योगी नरहरिनाथले कोटी होम समेत चलाएको उक्त क्षेत्र बात्सायन ऋषिको तपोभुमि पनि भएकाले यसको ऐतिहासिक पक्षको समेत उजागर गर्दै संरक्षण, विकास र प्रवद्र्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।

माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित गौतमले कथा वाचन गर्नुहुनेछ । महायज्ञको पहिलो दिन रु ८० हजार प्रदान संकलन भएको छ ।

Comments
Loading...