हिमाली आवाज । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सार्वजनिक सेवा प्रवाहमा जनगुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिनुुभएको छ ।
हुलाक निर्देशनालय पोखरा अन्तर्गतका हुलाक कार्यालयहरूको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समिक्षा र हुलाक कार्यदिशा विषयक एक दिवशीय गोष्ठीको पोखरामा उद्घाटन गर्दै उहाँले प्राप्त जिम्मेवारी अनुसार छिटोछरितो सेवा दिनेतर्फ लाग्नुपर्ने बताउनुुभयो ।
देशमा संघीयता आइसकेका अवस्थामा तत्कालीन पश्चिमाञ्चल क्षेत्र अन्तर्गतका जिल्लाहरू अहिले पनि निर्देशनालय अन्तर्गत रहेको बताउँदै उहाँले परिवर्तित संरचना अनुसार नै यसको पुनः संरचना गर्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।

हुलाक सेवालाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुुपर्ने आवश्यकता औंल्याउँदै उहाँले समयसापेक्ष बन्न नसक्दा निजी क्षेत्रको सकृयता बढेको बताउनुुभयो ।
हुलाक निर्देशनालय पोखराका निर्देशक कीर्तनराज पौडेलले प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्नेगरी साधनस्रोतको उचित प्रबन्ध गरी हुलाक सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकृत दीनेश खनाल, हुलाक सेवा विभागका लेखा अधिकृत गोपाल आचार्य, गोस्वारा हुलाक कार्यालयका डुरदेव अर्याल, निर्देशनालयका अधिकृत तुलसी आचार्य, नायवसुव्वा तारा पोखरेल ढकाल लगायतले बोल्नुुभएको थियो । गोष्ठीमा निर्देशनालय अन्तर्गत अर्घाखाँची, कपिलवस्तु, गुल्मी, गोरखा, तनहुँ, नवलपरासी, पर्वत, पाल्पा, मनाङ, मुस्ताङ, म्याग्दी, रुपन्देही, लमजुङ, वाग्लुङ, स्याङ्जा जिल्ला सहित निर्देशनालयको प्रस्तुती रहने र त्यस सम्बन्धमा छलफल गरिनेछ ।