पोखरामा आजदेखी ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल

हिमाली आवाज । पोखरामा आजदेखी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब स्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता सुुरु हुँदैछ ।

खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।

उहाँका अनुसार उद्घाटन खेलमा घरेलु टोली गण्डकी प्रदेश र नेपाल आर्मी क्लबका बीच खेल हुनेछ । यसैगरी महिलातर्फ विभागिय टोली एपिएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगिताका लागि रङ्ग–रोङ्गन, सरसफाई, स्टेज तथा अस्थाई प्यारापिट निर्माणको कार्य गरी खेल मैदानको मर्मत सम्भार गरिएको छ ।
प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लब र सहभागी टिमहरुमा विदेशी खेलाडीहरु समेत सामेल भए पछि प्रतियोगिता विगतका संस्करणहरुमा भन्दा थप रोचक र प्रतिस्पर्धी हुने विश्वास लिइएको शर्माले बताउनुभयो ।

प्रतियोगिताका लागि पोखरा रङ्गशाला भलिबल ट्र्ेनिङ सेन्टरमा १० हजार जना अट्ने अस्थायी प्यारापिट तयार गरिएको छ ।उहाँका हरेक दिन महिला र पुरुषतर्फका दुई÷दुई गरी चार खेल हुने प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिनुभयो ।

भारत हरियाणा राज्यको महिला पुलिस क्लब पहिलो पटक प्रतियोगिताका लागि पोखरा आइपुगेको छ । यसैगरी चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड स्पोर्टस क्लब, गण्डकी प्रदेश र तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपिएफ गरी छ टोलीले सहभागिता जनाउनेछन् ।

पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । पुरुषतर्फ तिन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यस वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । विजेता महिला तथा पुरुष टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । विजेता टोलीको पुरस्कारमा अघिल्लो वर्षको तुलनामा रु ५० हजार बढाइएको हो ।

यसैगरी उपविजेता पुरुष तथा महिलाको टोलीले रु दुई लाख ५५ हजार पाँच सय ५५ का दरले र तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो ।

देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन सहित पोखरालाई खेलकुद सहरमा विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

Comments
Loading...