हिमाली आवाज । पोखरा बजार क्षेत्रमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि पोखरा—१४ बाच्छेबडुवामा गोकुल धाम (गौशाला) सञ्चालनमा ल्याइएको छ ।
सो गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्धेश्यले गत पुस २६ गतेदेखी माघ ४ गतेसम्म आयोजना गरिएको महायज्ञबाट नगद र जिन्सी गरी रु ५८ लाख २२ हजार १८२ जम्मा भएको महायज्ञ आयोजक राष्ट्रिय परोपकार महासंघ नेपालले जनाएको छ ।
सप्ताहव्यापी महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनहरूले कथा श्रवण गरेका आयोजकले बताएको छ । महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ । हाल गौशालामा दुई सय बढी गाईहरू संरक्षित छन् ।
राष्ट्रिय परोपकार महासङ्घका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार भागवत आदिशास्त्रका बाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले घचघच्याउनका लागि गोकुल धामको प्रारम्भ गरिएको बताउनुभयो ।
उहाँले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न यो महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
गौतमले भन्नुभयो,“ योे समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठ मात्र होइन, नजरले र्हेयो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ । यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउन होइन । कान्जी हाउस पहिला थियो, अव यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।”
गोबर र गौमुत्रको प्रशोधनको प्रक्रिया सुरु गरिएको र जसको उपयोग मार्फत दशौँ रोपनी बन्जर जमिनलाई अग्र्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उहाँले बताउनुभयो ।

आफुहरु गौशाला परिसरमा ३६५ प्रजातिका डाले घाँसका बिरुवाहरू रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले बताउनुभयो । गो बंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन भन्ने कुरा जगतलाई स्मरण गराउनका लागि यो अभियानको थालनी गर्न लागिएको उहाँले बताउनुभयो ।
गौशालाले विशुद्ध गौमातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामाग्रीहरू उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजना समेत गौतमले सुनाउनुभयो ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले फोहोरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा गोकुल धाम सञ्चालन भएपछि पोखराको सहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।
गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने उहाँले बताउनुभयो ।
गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्र स्थलका रूपमा विकास गर्नेगरी सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उपप्रमुख गुरुङले बताउनुभयो ।
भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संसाधनको विकास समेत अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले परम्परागत संस्कार र संस्कृतिको समेत रक्षा गर्नुपर्ने बताउनुभयो ।
कुनै पनि पशुचौपाय अनुत्पादक भएपछि त्यसलाई सडकमा छोड्ने कार्य दण्डनीय हुने भन्दै त्यस्तो कानुन विपरीत र अमानवीय कार्य नगर्न तथा नगराउनु उहाँले आग्रह समेत गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने बताउनुभयो ।गौशाला व्यवस्थापनमा पोखरा महानगरपालिकाले पुरा गर्नुपर्ने दायित्व देखिने बहन गर्न प्रतिबद्ध हुनु पर्ने उहाँले बताउनुभयो ।
वर्षौँदेखि फोहोर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा १४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्र स्थलका रूपमा विकसित हुँदै गएको उहाँले बताउनुभयो ।अध्यक्ष कार्कीले वडा कार्यालयको तर्फबाट रु पाँच लाख र आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख १५ हजार दान सहयोग समेत प्रदान गर्नुभयो ।