लाहाचोकमा रक्तदान : ५८ युनिट रगत संकलन

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ ।

लाहाचोकमा क्रियाशील लाहचोक सानोपाटन चौतरा तथा प्रतिक्षालय निर्माण समिति र नेपाल रेडक्रस सोसाइटी लाहाचोक उपशाखाले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका सदस्य सुवास अधिकारीले पहिलो रक्तदाता सुशील श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । श्रेष्ठले हालसम्म २४ औँ पटक रक्तदान गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले खेर जाने रगत दान गर्दा कसैले नयाँ जीवन प्राप्त गर्न सक्ने र आफूलाई आवश्यक पर्दा समेत सहज प्राप्त हुने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी लाहाचोक उपशाखा सभापति केशवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष मधुसुदन अधिकारी, लाहचोक सानोपाटन चौतरा तथा प्रतिक्षालय निर्माण समितिका अध्यक्ष ठाकूर प्रसाद अधिकारी लगायतले रक्तदानको महत्वका बारेमा भनाई राख्नुभयो ।

कार्यक्रममा स्वागत सुश्मा आचार्य अधिकारीले र कार्यक्रम सञ्चालन सुशील श्रेष्ठले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा वैदेशिक रोजगार मञ्च लाहाचोकले स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो ।

Comments
Loading...