हिमाली आवाज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको कास्कीको पोखरा खण्डमा देखिएको एलाइमेन्ट विवाद समाधानका लागि समिति गठन गरिएको र समाधानको नजिक पुगिएको बताउनुभयो ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
पोखरा महानगरपालिका–१६ बाटुलेचौर हुँदै राजमार्ग विस्तारका लागि ठेक्का आह्वान भएपछि सो क्षेत्रका स्थानीयवासी एक वर्षदेखी आन्दोलनमा उत्रिएका छन् ।
मन्त्री ज्वालाले भन्नुभयो,“मध्यपहाडी राजमार्गको पोखरा क्षेत्रको समस्या समाधानका लागि समिति गठन गरिएको र समाधानको नजिक नजिक छौँ । समिलिते उपभोक्ताहरु, सर्वदलीय र सर्वपक्षीय भेला गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । पोखरामा क्लियर हुन बाँकी क्षेत्र पनि छिटै पूरा हुन्छ ।”
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना, मध्यपहाडी राजमार्ग तथा पोखराको सेती नदीमा सिग्नेचर पुल निर्माण लगायतमा देखिएका समस्याहरु हल हुँदै गएको बताउनुभएको छ । निर्माणका क्षेत्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदै विकास निर्माणको कामले गति लिइरहेको बताउनुएको छ ।

मन्त्री ज्वालाले मुग्लिन पोखरा आयोजनाको पश्चिम खण्डको काम अत्यन्त सुस्त गतिमा अघि बढेकामा पछिल्ला दुई महिनामा सन्तोषजनक काम भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“पश्चिम खण्डको कामको अत्यन्त सुस्त भएपछि विकल्प खोज्नेमा पुगिसकेका थियौँ । हामीले पटक पटक अनुगमन र निर्माण व्यवसायीसँग बसेर छलफल गरेपछि अहिले सन्तोषजनक छ । अहिले पछिल्लो समय दुई महिनामा केही गतिमा काम भएको छ,अझै प्रगती बढाउने गरी काम गर्नुपर्दछ ।”
पूर्वाधार विकास र निर्माण स्थानीय सरकार, नागरिक समाज तथा सञ्चार क्षेत्र सबैको साझा सवाल भएकाले सबैको साथ र सहयोगमा मात्र त्यसलाई सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो ।
मन्त्री ज्वालाले निर्माण व्यवसायीले अघिल्लो आर्थिक वर्षमा गरेको कामको बाँकी रहेको भुक्तानी अब नरोकिने बताउनुभयो । उहाँले चालू आबका लागि चाहिने रकमका लागि अहिलेबाटनै पहल भइरहेको जानकारी दिनुभयो ।