‘आहा रारा पोखरा गोल्डकप’को तयारी पूरा, दर्शकलाई पनि दैनिक पाँच हजार पुरस्कार

हिमाली आवाज । पोखरामा यही माघ ९ गतेदेखी नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन हुँदै आएको र मोफसलको प्रतिष्ठित ‘आहा रारा पोखरा गोल्डकप’को २३ औं संस्करण सुरु हुँदैछ ।

पोखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियमममा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उद्घाटन खेल आयोजक सहारा र थ्रीस्टार क्लबकाबीच हुनेछ ।

प्रतियोगिता एक विदेशी सहित १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।

उहाँका अनुसार विजेताले रु १२ लाख एक हजार नगद सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।अध्यक्ष बरालले प्रतियोगितामा प्रथम र द्धितीय पुरस्कार सहित कूल रु २८ लाख ३२ हजार ५५५ नगद पुरस्कार राशी रहेको जानकारी दिनुभयो ।

सहभागी प्रत्येक टोलीलाई एक खेल खेले बापत अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिने बताइन्छ । प्रिक्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु २० हजार दरले र क्वाटर फाइनलमा विजेता र पराजित दुवै टोलीलाई रु ३० हजार तथा सेमिफाइनलमा पुग्ने टोलीलाईरु ५० हजारकादरले प्रोत्साहन रकम प्रदान गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।

यसैगरी ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजार सहित मेडल पुरस्कार पाउन्छन् । यसवर्षदेखी क्लबले प्रत्येक खेलमा दुई जनालाई भाग्यशाली दर्शक पुरस्कार रु पाँच हजारका दरले प्रदान गर्ने भएको छ । दर्शकको उपस्थिति वृद्धि गर्न र प्रोत्साहनका लागि सो पुरस्कार राखिएको बताइन्छ ।

प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, संकटा क्लब, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, थ्रीस्टार क्लब, पारो फुटबल क्लब भुटान, नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लबको टोली सहभागिता जनाउने छन् ।

अघिल्लो संस्करणमा संकटा क्लबले उपाधि जितेको थियो भने भुटनिज युथ स्पोर्टस् क्लब मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटनको सहरका रुपमा स्थापित गरौँ भन्ने उद्धेश्यका साथ हरेक वर्ष प्रतियोगिता सञ्चालन हुने गर्दछ ।
पर्यटकीय सहर पोखरालाई ‘स्पोर्टस् हव सिटी’को रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सहयोग पुग्ने आयोजकको भनाई छ ।
प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ । विस २०६१ देखी पोखरामा एकेडेमी सञ्चालनमा छ । हाल चौथो व्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।

Comments
Loading...