आहा ! रारा पोखरा गोल्डकपमा थ्रिस्टारको विजयी सुरुआत

हिमाली आवाज । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता आजदेखी पोखरामा सुरु भएको छ ।

पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराको टोली थ्रिस्टार क्लबसँग पराजित भएको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा थ्रिस्टारले घरेलु टोलीलाई २–१ गोलले निरास पार्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । पहिलो हाफको खेल एक÷एक गोलको बराबरीमा सकिएकामा दोस्रो हाफमा थ्रिस्टारको पक्षमा एक गोल भयो ।

खेलको पाँचौ मिनेटमा कप्तान योगेश गुरुङले फ्रिकिकमा आएको बल पेनाल्टी एरियामा नियन्त्रणमा लिँदै गोल गरेपछि थ्रिस्टारले अग्रता बनायो । तर २३ औँ मिनेटमा सहाराका आशिष गुरुङले बराबरी गोल गर्दै खेलमा फर्किन सफल भयो । गुरुङले हेडमार्फत गोल गर्नुभयो ।
खेलको ५९ औं मिनेटमा सहाराका अनिश तामाङले बल नियन्त्रण गर्ने क्रममा आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि थ्रिस्टार अघिल्लो चरण प्रवेश गर्न सफल भयो ।

खेलमा थ्रिस्टारका कप्तान योगेश गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित हँदै रु १० हजार पुरस्कार पाउनुभयो । थ्रिस्टारले अब क्वाटरफाइनलमा भुटानको पारो एफसीसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिएको छ ।पोखरा महानगरका प्रमुख धनराज आचार्यले नगद रु ५० हजार पाँच र सम्मानपत्रबाट घलानलाई सम्मान गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनी सम्मान गर्दै आएको सहाराका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।

विसं २०७४ देखि सञ्चालित यस सम्मान हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानित भइसक्नुभएको छ ।

आगामी माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार नगद सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा आयोजक सहारा सहित थ्रिस्टार क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, संकटा क्लब, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, पारो फुटबल क्लब भुटान र नेपाल एपिएफ क्लब सहभागी छन् ।

Comments
Loading...