थ्रिस्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक

हिमाली आवाज । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रिस्टार क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युवा क्लबमाथि १–० को साँघुरो जित निकाल्दै प्रतियोगिताको फाइनल प्रवेश गर्न सफल भयो ।

खेलको ७८ औँ मिनेटमा दीपेशले दीपेश आलेमगरको पासमा दोस्रो बारमा च्यापेर गरेको प्रहार पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । ‘म्यान अफ दी म्याच’ समेत घोषित निर्णायक गोलकर्ता घले ६७ औँ मिनेटमा मैदान प्रवेश गर्नुभएको थियो ।

पहिलो हाफको खेलमा दुबै टोलीमा कुनै पनि गोल हुन सकेन । दोस्रो हाफमा दुबैले आक्रामक फुटबल खेलका थिए । थ्रिस्टार आहा !राराको सफल टोली हो । थ्रिस्टारले हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि चुमेको छ ।जारी प्रतियोगितामा थ्रिस्टारले प्रिक्वाटरफाइनलमा आयोजक सहारा र क्वाटरफाइनलमा भुटानको पारो एफसीमाथि जित निकालेर सेमिफाइनलमा पुगेको थियो ।जावलाखेलले प्रिक्वाटरफाइनलमा मच्छिन्द्र र क्वाटरफाइनलमा मनाङ मस्र्याङदीलाई हराएको थियो ।

खेलपछिको पत्रकार सम्मेलनमा विजेता थ्रिस्टारका प्रशिक्षक विक्रम लामाले काउन्टर अट्याकमा गोल गर्ने रणनीति सफल भएको बताउनुयो । “जावलाखेल कम्बाइन टोली हो । त्यसैले सोही अनुसार रणनीति बनाएका थियौँ । त्यसमा सफल भयौँ ।” लामाले भन्नुभयो ।
फाइनलमा आजको खेलका कमीकमजोरीहरु हटाउने गरी उपाधि जित्ने गरी खेल्ने उहाँले बताउनुभयो ।

जावलाखेलका प्रशिक्षक नरेश थापाले खेलाडीले खेलाडीमा आरामको कमी भएको बताउनुभयो । पराजित भएपनि टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतियोगिता अन्तर्गत बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबकाबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । भोलीको विजेताले उपाधिका लागि थ्रिस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

यही माघ ९ गतेदेखी सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगद सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् ।

Comments
Loading...