पोखरामा माघ २१ देखी अन्तर्राष्ट्रिय भेट्रान फुटबल

हिमाली आवाज । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’का नारा सहित स्थापित बगर भाइ खलक पोखराले १३ औँ संस्करणको ‘बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी गरिएको छ ।

प्रतियोगिता यही माघ २१ देखी २७ गतेसम्म पोखराको बगरस्थित टुँडिखेलखेल मैदानमा सञ्चालन हुने आयोजक संस्थाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

संस्थाले समाजका प्रत्येक क्षेत्रका व्यक्तिहरुलाई स्वास्थ्यप्रति जागरुक बनाई आफ्नो स्वास्थ्यका लागि दिनमा कम्तिमा एक घण्टा व्यायाम गर्नुपर्दछ भन्ने सन्देश सहित प्रतियोगितालाई निरन्तरता दिएको बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा विदेशी सहित कूल ३६ टिमको सहभागिता रहने बताइन्छ । अध्यक्ष गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरी तीन उमेर समूहमा प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।अध्यक्ष गुरुङले प्रतियोगिताको उद्धेश्य युवा पिँडीलाई खेलकुदप्रति आकर्षित गर्नु रहेको बताउनुभयो ।

अग्रजलाई सम्मान, समकालिनलाई व्यायाम र अनुजलाई खेल स्वास्थ्यप्रति जागरुक बनाउनु हाम्रो उद्धेश्य सहित संस्थाले गतिविधि अगाडि बढाएको अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले यस पटक तीन उमेर समूहको प्रतिस्पर्धा गर्दैछौ । प्रतियोगिताको मुख्य उद्धेश्य भनेको ग्रास रुट फुटबल खेलाडी उत्पादन गर्नु रहेको छ । ग्रास रुटको विकासमा बुढाहरुको फुटबल किन भनियो भने बुढाहरु त खेल्दा रहेछन हामी पनि खेल्नुपर्छ भन्ने भावना जगाउन भेट्रान फुटबलको आयोजना गरेका हौँ ।”

प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले रु दुई लाख प्राप्त गर्नेछन भने उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् ।सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान रु पाँच हजारका दरले नगद पुरस्कार पाउने आयोजक संस्थाका महासचिव याम गुरुङले जानकारी दिनुभयो ।४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ ।

यसैगरी ५० वर्षमाथि उमेर समूहको विजेताले रु एक लाख, उपविजेताले रु ५० हजार पाउने छन् । पचास वर्ष वर्षमाथिको प्रतियोगितामा नौ टिमको सहभागिता रहेको छ ।यसैगरी ६० वर्षमाथिको विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार पाउनेछन् । यस विधामा चार टोलीको सहभागिता निश्चित भएको बताइन्छ ।

प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले विसं २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।

सोही अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी फूटबल खेलाडी एवं प्रशिक्षक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहुनभएका केसी वरिष्ठ फुटबल प्रशिक्षक हुनुहुन्छ ।

Comments
Loading...