आर्मीले आहा ! रारा गोल्डकप जित्यो, पोखरामा इतिहास रच्यो

हिमाली आवाज । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल आज सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलो पटक च्याम्पियन बन्न सफल भयो ।

यसअघि चार पटक फाइनल पुग्दा समेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा सफलता पाएको हो । पोखरामा पहिलो पटक उपाधि जितेर आर्मीले नयाँ इतिहास बनाएको छ । विगतमा पटक पटक असफल हुँदै आएपनि यसपटक आर्मी भाग्यमानी बन्न सफल भयो ।

पहिलो हाफको ३९ औँ मिनेटमा आर्मीका कप्तान जिलेप्सीजँग कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । मध्यान्हअघिको खेलमा १–० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरेपनि असफल भयो ।

खेलको ८३ औँ मिनेटमा आर्मीले फत्तेमान घलेको गोलबाट अग्रता दोब्बर बनायो । इन्जुरी समयको चौथो मिनेटमा वसन्त जिम्वाले गोल गर्दै आर्मीलाई जित दिलाउनुभयो ।

प्रतियोगितामा च्याम्पियन बनेको आर्मीले नगद रु १२ लाख एक हजार सहित ट्रफी पुरस्कार पायो भने उपविजेता टोली थ्रिस्टारले नगद रु छ लाख एक हजार सहित ट्रफी पुरस्कार पायो ।

Comments
Loading...