सत्तामा बसेकाहरुले ठीक ढङ्गले काम गरेनन्,राजावादीहरुको चुरिफुरी बढ्यो : नेता खनाल

हिमाली आवाज । पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताका आधारभूत समस्याहरु छुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष बढिरहेको, आक्रोस बढेको र जनता दिशाहिन महसुस गरेको उल्लेख गर्नुभयो ।

सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्तिहरुको चुरीफुरी बढेको जिकिर गर्नुभयो । नेता खनालले सत्तामा बस्नेहरुले अब आफ्नो कोर्स परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मानित नेता खनालले अहिलेको बाटो यथास्थितिको बाटो भएको र यसबाट परिर्वतन सम्भव भएकाले राजनीतिक पार्टीहरुले नयाँ ढङ्गले सिँहावलोकन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“सत्तामा बसेका शक्तिहरुले ठीक ढङ्गले काम गर्न नसकेकाले राजावादी लगायतका शक्तिहरुको चुरीफुरी देखिएको छ । सत्तामा बस्नेहरुले कोर्स परिर्वतन गर्नुपर्दछ । आफ्नो नीति र कार्यक्रममा परिर्वतन गर्नु आवश्यक छ ।”

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा गलत बैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको बताउनुभयो । उहाँले सही कार्यदिशा भएको खण्डमा कम्युनिष्ट आन्दोलन पुनः एकतावद्ध हुने उल्लेख गर्नुभयो ।

“दस लाख पार्टी सदस्य भएको नेकपामा त्यसमा विभाजन भएको छ । विभाजनको कारण गलत बैचारिक राजनीतिक कार्यदिशा हो । सही बैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिष्ट आन्दोलन फेरी एकतावद्ध हुन्छ । कम्युनिष्ट, बामपन्थीको एकता इतिहासको आवश्यकता हो । ” खनालले भन्नुभयो ।

नेता खनालले समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा प्रष्ट पार्नुपर्नेमा जोड दिनुभयो । नेकपा(एकीकृत समाजवादी)को आसन्न राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिष्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने उहाँले दावी गर्नुभयो ।

Comments
Loading...