अन्तर्राष्ट्रिय भेट्रान फुटबल :पोखराको सङ्गम र काठमाडौँको जोरपाटी च्याम्पियन

हिमाली आवाज । पोखरामा सञ्चालन भएको ‘बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड’ फुटबल प्रतियोगितामा पोखराको सङ्गम भेट्रान र काठमाडौँको जोरपाटी भेट्रान च्याम्पियन बनेका छन् ।

पोखराको टुँडिखेलस्थित खेलमैदानमा आज सम्पन्न फाइनमा प्रतियोगिताको ४० वर्ष उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा सङ्गम च्याम्पियन बनेका हुन् ।

प्रतियोगिताको ४० वर्षमाथिको फाइनल खेलमा जोरपाटीले नागस्वेती भेट्रान हेटौंडालाई सडन डेथमा हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा समेत समान दुई÷दुई को बराबरीपछि सडनडेथमा खेलको निर्णय गरिएको हो । सडनडेथसम्म पुग्दा १०÷१० पेनाल्टी प्रहार भएको थियो । च्याम्पियन बनेको जोरपाटीले रु दुई लाख नगद सहित ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता नागस्वेतीले रु एक लाख पुरस्कार पायो ।

यसैगरी प्रतियोगिताको ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को कठिन जित निकाल्दै सङ्गमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद रु एक लाख प्राप्त गर्दा बगरले रु ५० हजार पुरस्कार पायो ।

नागस्वेतीका कृष्ण शाक्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले नगद रु १५ हजार सहित ट्रफी पुरस्कार पाउनुभयो । उत्कृष्ट गोलरक्षक जोरपाटीका छिरिङ लामा घोषित हुनुभयो । उहाँ प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ समेत घोषित हुनुभयो ।

उत्कृष्ट मिडफिल्डर जोरपाटीकै रन्जित लामा, प्रशिक्षक जोरपाटीका बुद्ध लामा, उत्कृष्ट फरवार्ड नागस्वेतीका निमा लामा र डिफेन्डरमा नागस्वेतीका सन्तोष बस्नेत घोषित हुँदै जनही रु पाँच÷पाँच हजार पुरस्कार पाउनुभयो ।

प्रतियोगिताको ६० वर्ष उमेर समूह माथिको प्रतिस्पर्धामा आयोजक टोली च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले रु ५० हजार प्राप्त गरेको छ ।
बगर भाइखलकले यस अघिका संस्करणमा ४० वर्षमाथि उमेर समुहको मात्र प्रतियोगिता गराएपनि हाल तीन विधामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूह, ५० वर्षमाथि उमेर समूह र ६० वर्ष माथि उमेर समूहको प्रतिस्पर्धा गराएको हो ।

संस्थाले समाजका प्रत्येक क्षेत्रका व्यक्तिहरुलाई स्वास्थ्यप्रति जागरुक बनाई आफ्नो स्वास्थ्यका लागि दिनमा कम्तिमा एक घण्टा व्यायाम गर्नुपर्दछ भन्ने सन्देश सहित प्रतियोगितालाई निरन्तरता दिएको आयोजक बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्धेश्य युवा पिँडीलाई खेलकुदप्रति आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ । अग्रजलाई सम्मान, समकालिनलाई व्यायाम र अनुजलाई खेल स्वास्थ्यप्रति जागरुक बनाउनु हाम्रो उद्धेश्य सहित संस्थाले गतिविधि गर्दै आएको छ ।

यही माघ २१ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पोखरा सहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले विसं २०६८ देखि निरन्तर भेट्रान फुटबल सञ्चालन गर्दै आएको छ ।

Comments
Loading...