हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुन(अनन्त)ले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ ।
पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्गहरु सुशासन स्थापनामा केन्द्रित भएको यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गर्नुभयो ।
“नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ ।” नेता पुनले भन्नुभयो ।
सरकारले हुण्डी, क्रिप्टो करेन्सी लगायतमा कडाई गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउदा विदेशी मुद्रा सञ्चिती बढेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता पुनले भन्नुभयो,“अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा जम्मा भएको छ । विगतमा विदेशी मुद्रा छैन भनेर हाहाकार मच्चाइयो । ठूला पूँजी र आयोजनाहरुमा आयातका लागि जम्मा भएको पैसा लगानी गर्नुपर्दछ । अर्थतन्त्र चलायमान गराउनुपर्दछ ।”
नेता पुनले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम समाजका समै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताउनुभयो । “यसपटक खुला छलफल गरी बजेटको प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । जनताको सहभागिता र सरोकारमा बजेट बनाइने छ । ”नेता पुनले भन्नुभयो ।
नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभयो । निर्वाचन प्रणालीले गठबन्धन अनिर्वाय गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने उहाँले उल्लेख गर्नुभयो । शान्ति प्रक्रिया टुँगोमा पुर्याउने र समृद्धिको म्यान्डेट सहित गठबन्धन बनेकाले अहिले गठबन्धन तलमाथि नहुने उहाँले बताउनुभयो । “देश, स्थिरता र समृद्धिका लागि गठबन्धन गर्न सकिन्छ । निश्चित म्यान्डेट सहित अहिले काम गरेकाले अहिले गठबन्धन तलमाथि हुँदैन । ” पुनले भन्नुभयो ।
पार्टीको हालै सम्पन्न विधान अधिवेशनले वडा तहसम्म छलफल गरेर सुझाव सहित विधानमा परिमार्जन गरिएको बताउनुभयो । अव विधान अनुसार पार्टी सञ्चालनको वातावरण बनाएको नेता पुनले बताउनुभयो ।