पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकको पोल्टामा

हिमाली आवाज ।  पोखरामा आज सम्पन्न १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जित्नुभएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा केन्याली धावकहरुले बर्चश्व राखेका हुन् ।

उपाधि विजेता मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरी च्याम्पियन बन्दै नगद रु पाँच लाख पुरस्कार पाउनुभयो ।  यसैगरी केन्याकै इसाक किहारा कमिरीले दई घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै उपविजेता हुनुभयो । उहाँले रु तीन लाख पुरस्कार पाउनुभयो ।

अघिल्लो संस्करणका विजेता केन्याली धावक इडविन किप्लागटले दुई घण्टा २० मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरी तृतीय हुँदै रु दुई  लाख पुरस्कार पाउनुभयो ।  नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे । उहाँले रु ३० हजार पुरस्कार पाउनुभयो ।

गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो,द्धितीय र तृतीय हुनुभयो । यसैगरी महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँले निर्धारित २१ कमी दूरी एक घन्टा १८ मिनेट ३९ सेकेण्डमा पार गर्दै नगद रु एक लाख ५० हजार पाउनुभयो ।

केन्याली अवीजल जेरोप एक घन्टा १९ मिनेट दुई सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा राममायाँ बुढा एक घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तृतीय हुनुभयो । नेपालका फूलमति रानाले एक घन्टा २१ मिनेट ०७ सेकेण्डमा निर्धारित दूरी पार गरी सान्त्वना स्थान हासिल गर्नुभयो ।

पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो हुँदा ३२ मिनेट ३७ सेकेण्डमा पार गर्नुभयो । तृतीय हुनुभएका  सन्जिब नेपालीले ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गर्नुभयो ।

प्रथम भएका कार्कीले रु ३० हजार, द्वितीय हुने सुवासले रु २० हजार तृतीय भएकी नेपालीले रु १५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सिमा चौधरी द्धितीय, ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तृतीय हुनुभयो ।

यसैगरी पाँच किमी छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल हुनुभयो । छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोश्रो र एन्जीला जिटी तृतीय हुन सफल हुनुभयो ।

यसैगरी पाँच किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही,  निम बहादुर थापा क्रमश पहिलो, दोश्रो र तृतीय हुनुभयो । महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमश पहिलो, दोश्रो र तेस्रो हुनुभयो ।

प्रतियोगिताको पाँच किलोमिटर छात्र–छात्रा तथा भेट्रान दौडमा प्रथम हुनेले रु १५÷१५ हजार, दोश्रोले रु १०÷१० र तृतीय हुनेल रु सात÷सात हजार पुरस्कार पाउनुभयो ।

Comments
Loading...