हिमाली आवाज । पूर्वाधार मात्र विकास नरहेकाले भाषा, साहित्य, संस्कार र संस्कृति लगायतका विषयलाई विकासको पक्ष मानेर सञ्चार माध्यमहरुले समाचार सम्प्रेशण गर्नुपर्ने पोखरामा आइतबार आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको सन्दर्भमा रासस गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको ‘विकासमुलक पत्रकारितामा राससको भूमिका’ विषयक अन्तरक्रियामा वक्ताहरुले समग्रमा मान्छेहरुको जीवनस्तर सजिलो र समृद्ध बनाउने कुरा विकासको पाटो भएकाले राससले यसतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याइयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पूर्वाधारलाई मात्र विकास देख्ने परिपाटीको अन्त्य गरी अलि फराकिलो दृष्टिले हेर्नुपर्ने बताउनुभयो ।“हाम्रो भाषा, साहित्य संस्कार र संस्कृति जस्ता विषयहरु पनि विकासको पक्ष हुनुपर्दछ । सँगसँगै मानवीय शक्तिको विकास पनि महत्वपूर्ण पाटो रहेको छ । ” आचार्यले भन्नुभयो ।
महानगर प्रमुखले पूर्वाधार विकास सहित पर्यटन, साहित्य, कला र सम्पदा क्षेत्रको विकास पनि विकासका पक्ष रहेकाले त्यसतर्फ कलम चलाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“विकासभित्र हाम्रा सम्पदाका विषयहरु पनि छन् । पोखरा पाटन र चौर नै चौरको शहर थियो । हामी यहाँका २० वटा पाटनको नाम भन्न सक्छौँ । अहिले चौर पनि छैनन्,पाटन पनि छैनन् । खोज्दै जाँदा सबै ठाउँमा ठूला ठूला मान्छेले पनि अतिक्रमण गरेको देखिन्छ । त्यसमा पत्रकारिता गरौँ, लेखौँ, खोजौँ । सार्वजनिक ठाउँको सम्पत्ति संरक्षणलाई अभियानमा लैजाऔँ ।”
महानगर प्रमुख आचार्यले रासस सरकारी समाचार एजेन्सी भएकाले राससका समाचार सबैले बिना पैसा लिन पाउनुपर्नेमा जोड दिनुभयो ।
“राससको गेट वे सबैलार्ई खुला हुनुपर्दछ भन्ने लाग्दछ । यसले आफ्नो समाचार सबैलाई दिनुपर्दछ । पोखराका सबै मिडियाले राससको समाचार पाउनु पर्दछ । त्यसको शुल्क दिन हामी तयार छौँ । महागनर राससलाई पैसा दिन र सहयोग गर्न तयार छ । ”आचार्यले प्रतिवद्धता जनाउनुभयो ।
राससका पूर्व कार्यकारी अध्यक्ष कोमलनाथ बरालले सरकारले दिने अनुदानले राससको सञ्चालन खर्च नपुग्ने भएकालेसमाचार बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले विकासका खोजी समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
“राससले समस्या उजागार गर्दै सरकारले गरेका राम्रो कामको प्रचार गर्नुपर्दछ ।” पूर्वअध्यक्ष बरालले भन्नुभयो,“विकाससँगै प्रकृति र संस्कृति पनि राससकको प्राथमिकतामा हुनुपर्दछ ।”
प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले राससले धेरै काम गरेको बताउनुभयो । राष्ट्रियताको संरक्षण सहित स्थानीय उत्पादनलाई प्रवद्र्धनमा समेत राससको भूमिका रहेको शर्माले अनुभुति राख्नुभयो ।

“सुस्ता रोएको बेला पनि राससको समाचार आउथ्यो । त्यो बेला कसले समाचार ल्याउने, अहिले जस्ता पत्रकार थिएनन् । सुस्तामा नेपाली हेपियो भनेर , पशुपतिमा सीमा मिचिएको समाचार राससमा आउथ्यो।”शर्माले स्मरण गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले राससले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर समाचार संम्प्रेशण गरेकामा खुशी व्यक्त गर्नुभयो । पोखराका सकारात्मक विषयलाई प्राथमिकता दिन उहाँले सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले राससले श्रव्य दृश्य सहितका समाचार सामग्री पस्कनुपर्ने र न्यू मिडियाले समेत खरीद गर्न योग्य हुनुपर्नेमा जोड दिनुभयो ।
ट्रेकिङ एजेण्ट एशोसिएसन(टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटन क्षेत्रलाई राससले प्राथमिकता दिएको र पर्यटनसँग सम्बन्धित समाचारका दिनु राम्रो पक्ष भएको बताउनुभयो ।
उहाँले बाटाघाटले पदयात्राहरु सकिदै गएकामा चिन्त व्यक्त गर्नुभयो । छिटै पोखरा पर्यटकीय राजधानी घोषणा हुन लागेकाले पर्यटनको हित हुने समाचार अझै आउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन(नाटा) गण्डकीका अध्यक्ष हरेराम अधिकारीले सकारात्मक विषयको प्रचार गर्न सकेको खण्डमा विकास सम्भव हुने बताउनुभयो । उहाँले पोखरालाई ब्राण्डिङ गरेर प्रचारमा जानुपर्नेमा जोड दिनुभयो ।
पोखराका पत्रकार वासु मिश्रले विकास सबैले चाहेको विषय रहेको र समग्र विकास भइसकेपछि मात्र व्यक्तिगत विकास सम्भव हुने उल्लखे गर्नुभयो । पत्रकारिताले निर्र्दिष्ट गरेको आलोचना गर्नुपर्ने र त्यो स्वस्थ्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले पछिल्लो समय राससका समाचार सामग्रीमा सुधार देखिएको बताउनुभयो ।
रासस गण्डकीका प्रमुख वासुदेव पौडेलले बेलाखतमा सुधारका लागि राससले सरोकारवालाहरुसँग सुझाव लिँदै सोही अनुसार आफ्ना सेवालाई परिमार्जन गर्दै आएको बताउनुभयो ।
गण्डकी प्रदेशमा पर्यटन क्षेत्रलाई राससले मुख्य प्राथमिकता दिएको उहाँले बताउनुभयो । राससले विहान ६ः०० बजेदेखी राति ११ः०० बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सहित फोटो, भिडियो तथा आलेख सेवा प्रदान गर्दै आइरहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
कार्यक्रममा रासस गण्डकीका समाचारदाता राम थापा अविरल र स्थानीय समाचारदाता जमुना शर्माले राससले गरेका कामहरुका बारेमा चर्चा गर्नुभएको थियो ।