हिमाली आवाज । मधेश प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल(एमएम) कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदुरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेश दोस्रो पटक च्याम्पियन बन्न सफल भयो ।
यसअघि मधेशले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदुरले रु ५० हजार र ट्रफीमा चित्त बुझायो ।
खेलमा टस जितेर व्याटिङ रोजेको सुदुर पश्चिम २० दशमलव दुई ओभरमा ८६ रन जोडेर ‘अलआउट’ भयो । सुदुरलाई सस्तैमा रोक्न मधेशका बलर धिरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिनुभयो ।

सुदुर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सक्नुभएन ।मधेशका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक÷एक विकेट लिनुभयो ।
उपाधिका लागि ८७ रनको लक्ष्य मधेशले २० ओभरको चौथो बलमा पाँच् विकेट गुमाएर भेट्टाउन सफल भयो । सुरुआती चरणमा मधेशको ब्याटिङ धरमराएपनि मोहमद अरमानले २० र परिमार्जन यादवले ३० रनको योगदान दिएपछि जितको आधार तयार भयो । सुदुर पश्चिमका लागि डम्वर माझीले दुई, निराजन गौतम र निरज ऐरले समान एक÷एक विकेट लिनुभयो ।
यही माघ २८ गतेदेखी सुरु भएको प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित हुनुभयो । उहाँल प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिंदा १० विकेट लिनुभएको थियो ।प्रतियोगिताभर सर्वाधिक १४ विकेट लिनुभएका सुदुर पश्चिमका डम्बर माझी उत्कृष्ट बलर घोषित हुनुभयो ।मधेश प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल हुनुभयो । उहाँले एक ५२ रन बनाउनुभएको थियो ।
प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङ, प्रतिनिधिसभाका सांसद एवं सेन्टरका अध्यक्ष ठाकुर गैरे, पूर्वमन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्री लगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । ‘वन डे फर्मयाट’ अन्तर्गत २५ ओभरको ‘लिग कम नकआउट’मा खेल खेलाइएको थियो ।
प्रतियोगितामा मधेश र सुदुरपश्चिम सहित कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम तथा आयोजक मनमोहन मेमोरियलले सहभागिता जनाएका थिए ।