हिमाली आवाज । कास्की जिल्लाको मादी गाउँपालिकाले पालिकाको स्थापना दिवस अवसर पारेर गण्डकी प्रदेश अन्तर पालिका भलिबल प्रतियोगिता गर्ने भएको छ ।
गाउँपालिकाले आठौं स्थापना दिवसको अवसरमा यही फागुन २० देखी २९ गतेसम्म गण्डकी प्रदेशका स्थानीय तहहरुकाबीचमा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्थापना दिवसको अवसर पारेर पहिलो पटक भलिबल प्रतियोगिता गर्न लागिएको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताउनुभयो । प्रतियोगिताले स्थानीय तहबाटै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोगी बन्ने अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले रु तीन लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनले रु दुई लाख र तेस्रोले रु एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने चौंथो हुनेलाई रु ५० हजार रुपैैयाँ प्रदान गरिने उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्करा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बताउनुभयो ।

उहाँका अनुसार स्थापना दिवसको अवसरमा फागुन २७ गते झाँकीसहितको प्रदर्शनी गरिने छ । सो अवसरमा स्थानिय कलाकारहरुको स्वागत गीत, स्वागत नृत्य, जनप्रतिनिधिहरुको स्वागत नृत्यलगायतका कार्यत्र mमहरु रहेको गौतमले बताउनुभयो ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले ज्येष्ठ नागरिकहरु मध्येको सबैभन्दा बृद्धबृद्धा एक÷एक जनालाई ग्राम पिता र ग्राम माताको उपाधिसहित सम्मान गर्नेभएको छ ।
यसैगरी जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिताको कार्यक्रम पनि राखिएको छ । हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई नगद ५ हजारसहित प्रमाणपत्र पाउनेछन् ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्वयम्सेविका, उत्कृष्ट कृषक, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट टोल सुधार समिति, उत्कृष्ट सहकारीलगायत घोषणा गरी पुरस्कृत गर्ने जनाइएको छ ।