गण्डकीका साढे दुई लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप

हिमाली आवाज । गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप दुई लाख ५३ हजार ३५ जना बालबालिकालाई दिइने भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका नौ महिना उमेर पूरा गरी पाँच वर्षभित्रका सबै बालबालिकाहरुलाई तालिमप्राप्त स्वास्थ्यकर्मीहरुबाट मात्र खोप दिने योजना रहेको छ ।

गण्डकीमा यही फागुन १३ देखी चैत ७ गतेसम्म सबै स्वास्थ्य संस्था र खोप केन्द्रहरुमा खोप अभियान सञ्चालन हुने निर्देशनालयका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकीका नवलपरासी बर्दघाट(सुस्ता पूर्व) जिल्लामा नौ महिनादेखी १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुबेलाको खोप प्रदान गरिने छ भने अन्य बाँकी जिल्लामा नौ महिना पूरा गरी पाँच वर्षभित्रकालाई दिइनेछ ।

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन अन्तिमदेखी मात्र अभियान सुरु हुनेछ । चिसो मौसमका कारण दुई जिल्लामा दुई सातापछि मात्र कार्यक्रम सुरु हुने बताइन्छ ।

“ बेला बेलामा नेपालमा दादुराको महामारी फैलिने गरेकाले यस प्रकारको खोप अभियान अझै प्रभावकारी ढङ्गले गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसैले समुदायमा रहेका लक्षित समूहको कुनै पनि बालबालिकाहरु खोपबाट बञ्चित नहुन् भनी बढी सजगता अपनाइएको छ ।” पौडेलले भन्नुभयो ।

गण्डकी प्रदेश समेत दादुरा रुबेलाबाट अछुतो नरहेकाले खोप कार्यक्रम प्रभावकारी र व्यवस्थित हुने बताइन्छ । हालै मात्र तनहुँको शुक्ला गण्डकी नगरपालिकामा दादुरा रुबेलाको महामारी देखापरेको पौडेलले जानकारी दिनुभयो ।

खोपका लागि प्रदेशमा दुई हजार आठ सय ८९ खोप सेसन सञ्चालन हुनेछन् । खोप लगाउनका लाग दुई हजार आठ सय ८९ जना स्वास्थ्यकर्मी र पाँच हजार सात सय ७८ स्वयंसेवक परिचालित हुने निर्देशनालयले जनाएको छ ।

कास्कीमा ३४ हजार नौ सय २५,लमजुङ नौ हजार आठ सय १५,नवलपरासी एक लाख २२ हजार,तनहुँमा २० हजार चार सय ८०, पर्वतमा आठ हजार छ सय ११ र बाग्लुङमा २० जनामा खोप दिइनेछ ।

यसैगरी गोरखामा १७ हजार सात सय चार,स्याङ्जा १६ हजार र म्याग्दीमा छ हजार पाँच सय जना बालबालिकालाई खोप दिने योजना रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका मेडिकल सर्भिलेन्स अफिसर डा रामु शर्माले दादुरा रुबेलाको भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको बताउनुभयो । खोपपछि कोही कसैमा सामान्य ज्वरो आएपनि अन्य जटिल स्वास्थ्य समस्या नआउने उहाँको भनाई छ ।

“खोपमा कुनै पनि शंका छैन । सुरक्षित र अत्यन्त प्रभावकारी समेत छ । ”डा शर्माले भन्नुभयो,“खोपपछि कसैलाई सामान्य ज्वरो आउन सक्ने भएपनि पछि त्यो आफै हराएर जान्छ ।”

डा शर्माले खोप लगाएपछि यदी कुनै अवान्छित घटना भई हालेमा उपचारका लागि (एएफआइ) टोली सबै जिल्लामा खटिएको बताउनुभयो । जिल्लास्थित अस्पतालका एनआइसियु कक्षका दुई वटा श्यया खोप अवधिका लागि छुट्टाइएको समेत जानकराी दिनुभयो ।

दादुरा तथा रुबेला दुवै रोग अत्यन्त सङ्क्रामक रहेको र बालबालिकाहरुलाई यी रोगले बढी सङ्क्रमण गर्ने विश्व स्वास्थ्य संगठनको भनाई छ ।
सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । नेपालमा ४५ वर्षदेखी दादुराको खोप र पछिल्लो एक दशकभन्दा बढी समयदेखी रुबेला समेतको गरी संयुक्त रुपमा १६ हजार भन्दा बढी खोप केन्द्रबाट प्रदान गर्ने गरिएको छ ।

सन् २००४ देखी हालसम्म हरेक चार÷चार वर्षमा अभियानको रुपमा पनि यो खोप लगाइदै आइरहेपनि बेला बेलामा महामारी फैलिने गरेको बताइन्छ ।

Comments
Loading...