पोखरामा चैत पहिलो साता बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’

हिमाली आवाज । पोखरामा आगामी चैत १ देखी ३ गतेसम्म ‘बाह्रखरी गल्फ एन्ड बियोन्ड’ कार्यक्रम हुने भएको छ । बाह्रखरी मिडियाले वार्षिक रूपमा यो कार्यक्रम गर्दै आएको छ ।

देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य रहेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।‘गल्फ एन्ड बियोन्ड’ कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा हुनेछ ।

कार्यक्रम अन्तर्गत पहिलो दिन पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल ¥याली आयोजना गरिनेछ ।यसको प्रमुख उद्देश्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउन चेतना जगाउनु रहेको रहेको बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत २ गते काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी, सुर्खेतलगायत स्थानबाट पोखरा पुग्ने तीन सय बढी ‘कर्पोरेट पाहुना’ लाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुनेछ ।

सो पाहुना समूहमा कर्पोरेट नेतृत्ववर्गसहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधिहरू तथा वरिष्ठ पत्रकार एवं सम्पादकहरू रहनुहुनेछ ।

सोही दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्नुहुनेछ ।

चैत ३ गते बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसै दिन बिहान ९ बजे प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । त्यसमा देशभरका युवा उद्यमीसँग अन्तरक्रिया गरिनेछ ।

देशभरबाट पोखरामा भेला भएका एक सय २० जना कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन् ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कार स्वरूप प्राप्त गर्ने बताइन्छ ।
आयोजकका अनुसार प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

कार्यकारी अध्यक्ष प्रधानले वार्षिकरुपमा पोखरामानै गल्फ प्रतियोगिता र अन्य कार्यक्रम आयोजना गर्ने मनसाय रहेको बताउनुभयो ।

Comments
Loading...