पोखरालाई चैत पहिलोसाता पर्यटकीय राजधानी घोषणा गछौँ : प्रमुख आचार्य

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी समेत रहेको देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरालार्ई पर्यटकीय राजधानी घोषणाको तयारी गरिएको छ ।

आगामी चैत पहिलोसाताभित्रमा भव्य समारोहकाबीचमा पर्यटकीय राजधानी घोषणा गरिने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)को छैटौं साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले उहाँले हालसम्म यही दिन भनेर मिति तय नभएपनि चैत १ देखी ७ गतेभित्रमा घोषणा समारोह हुने बताउनुभयो ।

प्रदेश सरकार र महानगरले औपचारिक निर्णय गरेर राजधानी घोषणाका लागि सङ्घीय सरकारमा पठाएका छन् । पर्यटकीय राजधानीका लागि गण्डकी प्रदेश सरकार र महानगरपालिकाले पटक पटक सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

तर सङ्घ सरकारले हालसम्म निर्णय कार्यान्वयन गरेको छैन । सङ्घले निर्णय नगरेपछि प्रदेश सरकार र महानगरले पर्यटकीय राजधानी घोषणाका प्रक्रिया अघि बढाएका हुन् ।

प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत महिना प्रतिवेदन सरकारलाई बुझाएको छ ।

महानगर प्रमुख आचार्यले धेरै लामो छलफल र अध्ययनपछि राजधानी घोषणा गर्ने ठाउँमा पुगेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा घोषणा कार्यक्रम गर्ने योजना रहेको सुनाउनुभयो ।

आचार्यले भन्नुभयो,“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो,, गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै चिज हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ ।” उहाँले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी तयारी गर्न समेत पर्यटन व्यवसायी समक्ष आग्रह गर्नुभयो ।

आचार्यले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता लगायतमा सुधार गर्दै लगिने बताउनुभयो । पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायी वासु त्रिपाठी, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, निर्वतमान अध्यक्ष पार्वती पाण्डे, संस्थाका अध्यक्ष उमा रेग्मी भण्डारी लगायतले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरेली पर्यटन व्यवसायी आतुर रहेको बताउनुभएको थियो ।

कार्यक्रममा पत्रकारिताका माध्यमबाट पर्यटनको विकासमा योगदान गरेकामा पोखराका क्रियाशील पत्रकार घनश्याम पाण्डेलाई नगद सहित सम्मान गरिएको थियो । पत्रकारिताका माध्यमबाट पोखराको पर्यटन विकासमा योगदान गरेकामा पाण्डेलाई सम्मान गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

Comments
Loading...