सत्ता गठबन्धन टुट्यो, केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बन्दै

हिमाली आवाज । बर्तमान सत्ता गठबन्धन टुटेको छ । नेपाली काँग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन टुटेसँगै नयाँ गठबन्धन बनेको छ ।

काँग्रेस सहितको हालको गठबन्धन टुटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।

आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो ।
नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले एमालेसहित नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउने निर्णय भएको जानकारी दिनुभयो ।

‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ,’ उहाँले भन्नुभयो । नयाँ गठबन्धनबाट आजनै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ ।

Comments
Loading...